जनार्दनसँग छानबिन समितिले लियो ३ घण्टासम्म बयान


संसदीय छानबिन विशेष समितिमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको बयान सकिएको छ । बयानको क्रममा उनले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता नभएको बताएका थिए । आर्थिक वर्ष २०७९, ८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्ने आरोपबारे ११ सदस्यीय संसदीय समितिले छानविन गर्दै आएको छ ।

सोही क्रममा बयान लिन आज बिहानको बैठकमा निवर्तमान मन्त्री शर्मालाई बोलाइएको थियो । समितिले शर्मासँग झण्डै ३ घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरेको थियो । करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले प्रचलित मूल्य, मान्यता, विधि र प्रक्रिया अनुसार नै बजेट निर्माण गरेको भन्दै अनधिकृत व्यक्ति संलग्न नभएको दाबी प्रस्तुत गरे ।