लुम्बिनीमा मन्त्रीहरु परिवर्तन गर्नुपर्ने दबाव


पूर्व सहमति अनुसार लुम्बिनीमा मुख्यमन्त्री परिवर्तन गर्न असफल भएको नेपाली कांग्रेसभित्र संघ र प्रदेशको चुनावको मुखमा मन्त्रीहरु परिवर्तन गर्नुपर्ने दबाव बढेको छ ।

२०७८ साउन २८ गते माओवादी केन्द्रका नेता कुलप्रसाद केसीलाई पाँच दलको समर्थनमा मुख्यमन्त्री बनाउँदा प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेससँग ८–८ महिना आलोपालो नेतृत्व गर्ने सहमति भएको थियो । सहमति अनुसार मुख्यमन्त्री केसीले फागुन १ गते नेतृत्व छाड्नुपर्ने थियो ।

तर माओवादीले गण्डकी र अन्य प्रदेशको पनि नेतृत्व परिवर्तनको विषय उठाएर नेतृत्व छाड्न अस्वीकार गरेपछि कांग्रेसभित्र मन्त्रीका आकांक्षीहरुले पार्टीभित्र मन्त्रीहरु परिवर्तन गर्नुपर्ने दबाव बढाएका हुन् ।

असार १३ गते बसेको संसदीय दलको बैठकले पहिलो निर्णय सरकारको नेतृत्व परिवर्तन र दोस्रो निर्णयमा नेतृत्व परिवर्तन सम्भव नभए मन्त्री परिषद पुनर्गठन गर्ने निर्णय गरेको थियो ।