मुल आधारमाथि नै प्रहार हुने गरी चुनावी मुद्दा उठाउन लागे – हृदयेश त्रिपाठी


जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले ठूला राजनीतिक दलहरुले संविधानको मुख्य आधारमाथि नै प्रहार हुने गरी चुनावी मुद्दा उठाउन लागेको टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रतिनिधि सभा सदस्य त्रिपाठीले ठूला राजनीतिक दलहरु संघीयताको खारेजी, गणतन्त्रमाथि प्रहार, धर्म निरपेक्षता प्रहार र दुई दलीय व्यवस्थाको वकालत गरेर निर्वाचनमा जान लागेको आरोप लगाएका हुन् ।

‘आगामी चुनावमा संविधानको स्तम्भमाथि नै प्रहार हुनेगरी चुनावी मुद्दा वा नारा बन्ने देखिन्छ । संघीयताको खारेजी, गणतन्त्रमाथि प्रहार, धर्म निरपेक्षतामाथि प्रहार, दुई दलीय व्यवस्थाको विक्षिप्त वकालत जस्ता विषयहरुलाई कथित जिम्मेवार दलहरुले नै नारा बनाई निर्वाचनमा जाने लक्षण देखिन्छ’ उनले भने ।