कर्मचारीको करार म्याद थप नगर्ने निर्णयविरुद्ध गाउँपालिका कार्यालय घेराउ 


करारका कर्मचारीको करार अवधि थप नगर्ने निर्णयको विरोधमा एमालेले खोटाङको जन्तेढुंगा गाउँपालिको कार्यालय घेराउ गरेकाे छ । २०७४ को स्थानीय तहको निर्वाचनबाट निर्वाचित एमालेका जनप्रतिनिधिले नियुक्त गरेका करारका ८१ जना कर्मचारीको १ साउनदेखि लागू हुनेगरी करार अवधि थप नगर्ने निर्णयविरुद्ध एमाले जन्तेढुंगा गाउँपालिका कमिटीले सोमबार बिहान १० बजेदेखि गाउँपालिकाको कार्यालय घेराउ गरेकाे हाे ।

करारका कर्मचारी नहटाउन भन्दै गाउँपालिकाका सबै वडा कार्यालयमा तालाबन्दी गरेको एमालेले गाउँपालिकाको कार्यालय घेराउ गरेको हो । यसअघि वडा कार्यालयहरूमा लगाइएको ताला बिना वार्ता र सहमति फोडेर खुलाइएकाले गाउँपालिकाको कार्यालय घेराउ गरिएको एमालेका जिल्ला कमिटी सचिवालय सदस्य शंखरबहादुर राईले बताए ।

एमाले नेता तथा कार्यकर्ताले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई कार्यालय भित्र प्रवेश गर्न नमिल्ने गरी छेकेर बसेका थिए ।

एमालेका नेता तथा कार्यकर्ता तीन घन्टाका लागि गाउँपालिकाको कार्यालय घेराउमा बसेका थिए, तर साेमबार बिहान ११.१५ बजे कार्यालय प्रवेश गरिएको गाउँपालिका उपाध्यक्ष खेम खड्काले बताए ।

६ वडामध्ये एमालेले साउन २ गते जन्तेढुंगा गाउँपालिका-४ डम्बर्खुशिवालय र ३ साउनमा अन्य वडामा ताला लगाएको थियो । त्यसमध्ये डम्बर्खुशिवालयमा लगाइएको ताला भने हालसम्म खोलिएको छैन ।

तर अन्य वडा कार्यालयमा लगाइएको ताला खोलिएको भन्दै एमाले पुन: आइतबारदेखि वडा कार्यालयमा तालाबन्दीमा उत्रिएको छ । एमालेले तालाबन्दी गरेपछि सेवाग्राही भने मारमा परेका छन् ।