विभिन्न स्थानमा डुबेर पाँच जनाको मृत्यु


सिन्धुपाल्चोक, बर्दिया, रुपन्देही र सिरहामा डुबेर पाँच जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–५ नयाँ बस्ती नजिक ईन्द्रावती खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चौतारा साँगाचोक गढी नगरपालिका–७ सानोसिरूबारी बस्ने ५० वर्षीया गोमा देबी धिताल र उनकी बहिनीको छोरा ५ वर्षीय विशेष धिताल रहेका छन् । उनीहरुको सोमबार मृत्यु भएको छ ।

मेलम्ची नगरपालिका–१२ बहुन्नेपाटी र ईन्द्रावती गाउँपालिका–५ जोड्ने झोलुङ्गे पुल तर्ने क्रममा पुलबाट चिप्लेर खोलाले बगाई उनीहरु बेपत्ता भएका थिए ।

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।

बर्दियाको मधुवन नगरपालिका–५ संगमटोल बस्ने ७३ वर्षीय सालिकराम देवकोटाको आफ्नै घर नजिकको इनारमा डुबेर सोमबार मृत्यु भएको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१५ गोलार बस्ने ८७ वर्षीया मनरूपी थापा मगरको फुल टिप्ने क्रममा सोही ठाउँ चम्कीपुरस्थित कुलोमा डुबेर सोमबार साँझ मृत्यु भएको छ ।

सिरहाको गोलबजार नगरपालिका–३ मुसहरनिया बस्ने ४५ वर्षीया बिना कुमारी लामाको घर नजिकैको पोखरीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ ।