ओखलढुंगा-सिन्धुली जोड्ने पक्की पुलको निर्माण सम्पन्‍न


ओखलढुङ्गा–सिन्धुली जिल्लालाई जोड्ने नवलपुरको पक्की पुलको निर्माण सम्पन्न भएसँगै स्थानीयहरु खुशी भएका छन् ।

पुलको सबै काम सम्पन्न भइसकेको र आगामी साउन २० गतेभित्र उद्घाटन गर्ने स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ । करीव २३ करोड लागतमा बनेको पुल दुई सय मिटर लामो छ ।

पुलमा पाँच वटा स्पानहरू रहेका छन् भने पुलको चौडाई ११ मिटरको छ । दुई वटा ठूला सवारी साधन सहज रुपमा पार गर्न सक्नेछन् ।

निरीक्षणपछि सञ्चारकर्मीहरुसँग बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको पुल सेक्टरका आयोजना प्रमुख केदार नेपालले यो पुल २०७३ सालको असार अन्तिममा शुरु भएको र २०७६ सम्म नै सकिसक्नुपर्ने भए पनि कोरोना महामारीको कारण काम केही ढिला गरी सकिएको बताए ।

उनले पुल सम्पन्न भइसकेको र यातायात सञ्चालनको अन्तिम चरणमा रहेको बताए ।