घट्टे खोलाको बाढी गाउँमा, २५ घर विस्थापित


लगातार परेको अविरल वर्षाका कारण घट्टे खोलामा आएको बाढी गाउँमा पस्दा रुकुम पश्चिमका २५ घर विस्थापित भएका छन् ।

आठबीसकोट नगरपालिका वडा नम्बर ७ गारास्थित १० गतेदेखि परेको अविरल वर्षातका कारण घट्टे खोला गाउँमा पसेको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । खोलाको उच्च जोखिममा परेपछि स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा ती परिवारलाई आफन्तको घरमा राखिएको छ ।

सडक खन्ने क्रममा निस्किएको माटो र ढुङ्गा बगेर खोलामा मिसिदा घट्टे खोलामा लेदोसहितको बाढी आएको र त्यो बाढी गाउँमा पसेको आठबीसकोट नगरपालिकाका मेयर रवी केसीले जानकारी दिए ।

बाढीले किसानको जमिन कटान गर्दा धान, मकै लगाएतका खेतीबाली बगाइदिएको छ ।