चाैतीस वर्षपछि कोसीको बहाव फर्किंदा दुई हजार परिवारको उठिबास:


०४५ सालसम्म कोसी नदी उदयुपुरको बेल्का नगरपालिका ८ डुम्रीबोटेबाट बग्थ्यो। ०४५ पछि कोसी नदीको बहाव पूर्वतर्फ धकेलियो। नदी पछि सरेपछि बस्ती अघिल्तिर सर्दै बस्दै गयो। ३४ वर्षपछि बुधबार बिहान कोसी नदी पुरानै बहावमा फर्किँदा बस्तीका मानिसको उठिबास भएको छ।

कोसी नदी अचानक बस्ती पसेको भने होइन्। असारको वर्षाले कोसी नदीमा पानीको बहाव बढेपछि पश्चिम बस्तीतिरको अस्थायी बालुवाको बाँधतर्फ कटान गर्न थाल्यो। बाँध कटान तीव्र भएपछि स्थानीय सरकारदेखि केन्द्र सरकार नियन्त्रणका लागि प्रयास सुरु गरेको बेल्का नगरपालिकाका मेयर अशोक कार्की बताउँछन्। बेल्का नगरपालिका र सिँचाई विभागको संयुक्त लगानीमा सो ठाउँमा १५ दिन अघिमात्र १.५ मिटर उचाइँ र ६.५ मिटर चौडाईको ४५० मिटर लामो बाँध बाँधिएको थियो।

कोसीमा पानीको बहाव बढ्दै जाँदा उत्तर पूर्वपट्टीको डुम्रीबोटेको त्रीकुटी बाँधको कटान बढ्न थाल्यो। कटान नियन्त्रण गर्न ढुंगा, बालुवा भरिएको बोरा, झांडी लगायतले छेक्ने प्रयास भयो। तर, कटान रोकिएन।

एक साताअघि प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की समेत यस कटान क्षेत्रको स्थलगत निरिक्षण गरेर निन्त्रणमा सहयोग गर्ने प्रतिवद्धता जनाएर फर्के। कोसी आयोजना भारतका प्रमुख मोरङ सुनसरी सिँचाई आयोजना प्रमुखले स्थलगत निरिक्षण गरी नियन्त्रणका प्रयास बढाउन भन्यो। नियन्त्रणका अनेकन प्रयत्न गर्दागर्दै पनि केही लागेन बेल्का नगरपालिकाका मेयर अशोक कार्कीले नागरिकसँग फोनमा भने,‘प्रकृतिका अगाडि मानिसको के जोर चल्थ्यो र ,कसैको केही लागेन् ! हेर्दा हेर्दै बाँध भत्केर कोसीको भंगालो बस्ती पस्यो उनले भने,‘अहिले कटान क्षेत्र बेल्का नगरपालिकाको वडा नम्बर ८ जलमग्न भएको छ। अहिलेको अवस्था हेर्दा यहाँ कोसीको भंगालो मात्र होइन्, कोसी नदी नै पसिसक्यो’, उनले भने।