महापुरूष नयाँ पोस्टर : जीवनसाथीसँग हरिवंश र अरुण
तेस्रो सातामा प्रदर्शन भइरहेको फिल्म ‘महापुरूष’ टिमले नयाँ पोस्टर सार्वजनिक गरेको छ । नयाँ पोस्टरमा दुई पुस्ताको प्रेम र जीवनसाथी प्राप्तिलाई देख्न सकिन्छ । पोस्टरमा हरिवंश आचार्य र गौरी मल्लको जोडीसँगै नयाँपुस्ता अरुण क्षेत्री र अन्जना बराईलीको जोडी देखिएको छ । उनीहरूको मुहारमा जीवनसाथीसँग हुँदाको खुसी देख्न सकिन्छ । पोस्टरले फिल्मको भाव व्यक्त गरेको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए ।
‘पोस्टरमा दुई पुस्ताको प्रेम र सामिप्यतालाई देखाएका छौँ । यसले फिल्मको कथासार व्यक्त गरेको छ । जीवन सुखीसँगै खुसी भएर बिताउने भाव यसले व्यक्त गर्छ’, निर्देशक भट्टराईले भने । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्ट लगायतले अभिनय रहेको छ । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।
षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेकाछन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।