अध्यागमनकै सेटिङ भिजिट भिसाको बहानामा मानव तस्कर : प्रहरीले तस्कर रोक्न सक्रियता बढायो 


काठमाडौं ,पछिल्लो समयमा मध्यराति हुने उडानमार्फत दुबई हुँदै तेस्रो मुलुकमा भिजिट भिसाको बहानामा मानव तस्करी हुने गरेको भन्ने गुनासो आएपछि प्रहरीले चेकजाँच कडा बनाएको छ ।मानव बेचबिखनमा संलग्न समूहले सोझा महिलालाई विदेशमा आकर्षक जागिरको प्रलोभनमा मध्यपूर्वका विभिन्न देशमा लगेर बेचबिखन गर्ने प्रवृत्ति बढेको छ । भिजिट भिसामा विदेश जाने सयौं नेपालीले दुःख पाएका छन् । कतिपय महिलाहरु बेचिएका छन् । यसरी बेचिएकाहरुको राज्यले उद्धार गर्नुपर्ने हुन्छ । यता अध्यागमनका कर्मचारी भने एक जनालाई पठाउँदा एक लाख रुपैयाँसम्म असुलेर त्यसमा मस्ती गर्दै आएका छन् ।

अध्यागमनकै सेटिङमा मानव तस्करी बढेपछि नेपाल प्रहरीले नै सक्रियता बढाएर शंकास्पदहरुलाई आफैं रोक्दै आएको छ । विमानस्थल प्रहरी र मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले तीन महिनामा ६ सय भन्दा धेरैलाई रोकेपछि सेटिङको जालो भत्किएको छ ।
भिजिट भिसाको नाममा मानव तस्करी बढेको सूचनापछि प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नै यसमा चासो राखी विमानस्थलमा कडाइ गर्न मातहतका प्रहरीलाई निर्देशन दिएका हुन् । प्रहरीले कडाइ गरेपछि केही व्यक्ति मानव अधिकारको प्रश्न उठाएर भिजिट भिसाको सेटिङलाई खुलाउन लबिङ गरिरहेका छन् ।

मानव बेचबिखनमा एयरलाइन्सका कर्मचारीदेखि अध्यागमनसम्मको मिलेमतो हुने गरेको प्रहरी अधिकारी बताउँछन् । एयरलाइन्स कम्पनीहरूले पर्याप्त कागजपत्र नभई बोर्डिङ पास दिन मिल्दैन । तर एयरलाइन्सका कर्मचारीले जस्तै सेटिङमा बोर्डिङ पास जारी हुने र अध्यागमनले पनि सहजै प्रस्थान अनुमति दिने गरेको छ ।

विमानस्थल प्रशासन,वैदेशिक रोजगार विभाग र म्यानपावर कम्पनीको मिलेमतोमा नेपालको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल बाट दैनिक ४००को हाराहारीमा तस्करी हुने गरेको छ । मानव तस्करीमा संलग्न माथि नेपाल प्रहरीले निगरानी बढाएको र अपराधमा संलग्न व्यक्तिहरुलाई कारबाही प्रकृया बढाइरहेका भएपनी मानव तस्करी नियन्त्रण गर्न कठिन भएको प्रहरीको उच्च स्रोतले बताउछ ।

मानव तस्करी नियन्त्रणमा वैदेशिक रोजगार विभागले मात्र नभएर सम्बन्धित सबै संयन्त्रले सक्रिय रुपमा काम गर्नुपर्ने देखिन्छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु पनि सचेत नभएको कारणले अधिकाश नेपाली युवा युवती विदेशमा नारकिय जिवन जिउन वाध्य रहेका छन । यसमा मानव वेचविखन व्युरोले कडाई गरेपनी अध्यागमनको मिलेमतोमा मानव तस्कर भैरहेको छ ।