राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली पासपोर्टको आफूले दुरुपयोग नगरेको बताएका छन् । आज पार्टीको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सो प्रष्टीकरण दिएका हुन् ।
अमेरिकाबाट नेपाल फर्किएपछि आफूले केही प्रक्रियागत त्रुटि गरेको रविले स्वीकार गरेका छन् । अमेरिकी पासपोर्ट फिर्ता नगर्दै आफूले नेपाली पासपोर्ट लिएको भए पनि त्यसको प्रयोग वा दुरुपयोग नगरेको उनको भनाइ रहेको छ ।
लामिछानेले भने, ‘मैले नेपाल फर्किँदा आफ्नो आमाको काखमा फर्किएको सन्तानले शर्तहरूमा ध्यान दिनुपर्छ जस्तो लागेन । मैले आफ्नो आवश्यकताका लागि पासपोर्ट, ड्राइभिङ लाइसेन्स, प्यान नम्बर सबै लिएको हुँ । तर, अमेरिकी पासपोर्ट तत्काल च्यातेर देशबाट फर्किन मिल्थेन । सोझो चिताएर त्यसरी लिएँ, तर प्रयोग गरिनँ ।’
रविले थपे, ‘कुनै पनि काम गर्दा अपराध गर्नुभयो भने असर र प्रभाव हुन्छ । मैले कसको कहाँ के बिराएँ ? भोलि कानून संशोधन गरेर पनि सजाय दिइयोस्, म तयार छु । नयाँ कानून बनाएर सजाय दिए पनि हुन्छ । म आम मान्छेको रुपमा मुद्दा लड्छु । मैले पासपोर्टको प्रयोग वा दुरुपयोग गरेको छैन । को कहिले गयो कहिले फर्कियो, त्यो त इमिग्रेसनको डेटामा भइहाल्छ । पत्रिकामा हेडलाइन बनाउनुपर्छ ? म लुकेर आएको हो र ?’
प्रतिक्रिया