‘बत्ती बाल्न खोज्दा स्पार्क निस्केर एक्कासी आगो लागेर बिस्फोट भयो’ : एसपी सीताराम रिजाल


ग्यास सिलिन्डर बिस्फोटमा परेर घाइते भएकी नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीकी आमा ८६ वर्षीया हरिकला भण्डारीको मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा हरिकला भण्डारीको बिहीबार बिहान १०:५७ बजे मृत्यु भएको हो।

कांग्रेस सांसद चन्द्रकान्तको कीर्तिपुरमा उपचार जारी छ। सांसद भण्डारीको अनुहार, दुबै हात, दुबै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलन भएको छ। उनकी आमाको करिब ७० प्रतिशत भाग जलेको थियो।

यो घटना बुधबार रातिको हो। काठमाडौंको बुद्धनगरस्थित एक घरको भुइँतलाको किचनमा ग्यास सिलिन्डर बिस्फोट भएको हो। उक्त तलामा चन्द्रकान्त र आमा हरिकला मात्रै बस्थे। एक जना सहयोगी पनि राखिएको थियो। तर हिजो भने ती सहयोगी थिएनन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी सीताराम रिजालका अनुसार घटना बुधबार राति सवा १० बजे भएको थियो।

प्रारम्भिक अनुसन्धानबाट राति सुरूमा किचेनमा ग्यास लिक भएको हरिकलाले थाहा पाएकी थिइन्। ग्यास लिक भएको थाहा पाएपछि हरिकलाले छोरा चन्द्रकान्तलाई यसबारे जानकारी गराइन्। ‘अहिले हामीले सबै कुराहरू बुझिसकेका छैनौं। राति ग्यास लिक भएको थियो। किचेन भित्र ग्यास गन्हाएपछि आमाले माननीयज्यूलाई भन्नुभएछ,’ उनले भने,‘उहाँ कहाँ के गन्हाएको हो भनेर हेर्न जानुभएछ।’

किचेनमा पुगेर सांसद भण्डारीले बत्ती बाल्‍ने क्रममा एक्‍कासी आगोको झिल्का आएर बिस्फोट भएको उनले बताएका छन् । ‘बत्ती बाल्न खोज्दा स्पार्क निस्केर एक्कासी आगो लागेर बिस्फोट भयो भन्ने बुझिएको छ,’ उनले भने। यसरी बिस्फोट हुँदा घरको फल्स सिलिङ, झ्यालका सिसाहरू फुटेका थिए। घरमा अरू पनि उपस्थित थिए। तर उनीहरू भने सकुशल नै छन्। बिस्फोट भएको थाहा पाएपछि प्रहरी घटनास्थल पुगेको थियो।

त्यसपछि सांसद भण्डारी र उनकी आमालाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो। अग्निनियन्त्रक राजकुमार ठकुरीका अनुसार ग्यास सिलिन्डर पूरानो भएकाले पनि पड्किने गरेको देखिन्छ। कुनै पनि सिलिन्डर १० वर्षदेखि १५ वर्षसम्म चलाउन मिल्छ। तर नेपालमा भएका कम्पनीहरूको लापरबाही पनि हुने गरेको उनले बताएका छन् ।

‘कुनै पनि ग्यास कम्पनीले सिलिन्‍डरले १० देखि १५ वर्षसम्म धान्छ भनेर आइएसओ सर्टिफाई गरेको हुन्छ। समय राखेर यति वर्षसम्म प्रयोग गर्न मिल्छ भनिन्छ,’ उनले भने, ‘तर नेपालका कम्पनीहरूले रङ लगाउने गरेको देखिन्छ। सिलिन्डरहरू डिस्पोज नगर्ने, आफू खुसी चलाइरहने, डेट लेख्ने, वेल्डिङ गरी मिलाउने गरेको हामीले अनुसन्धान गर्दा देखिन्छ। पुरानैलाई धेरैले रिफाइन गरेर चलाएको देखिन्छ।’

यस्तै रेगुलेटर, पाइप लगायत पनि पुरानो हुँदा यस्ता घटना हुने गरेको उनी बताउँछन्।

‘यहाँ कतिपय रेगुलेटरहरू पनि आइएसओको मान्यता नभएको देखिन्छ। पाइपहरू पनि गुणस्तर नभएको प्रयोग हुँदा पड्किने गरेको देखिन्छ,’ उनले भने,‘चिसोमा पाइप पनि फुटेर लिक हुने सम्भावना हुन्छ।’