नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेलले सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने दावी गरेका छन् ।
एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्र्तगत शुक्रबार सुदूरपश्चिम पुगेका पौडेलले हल्ला एकातिर हुने र घट्नाक्रम अर्कोतिर अघि बढ्ने भन्दै हालको सत्ता गठबन्धन पाँचै वर्ष जाने बताएका हुन् । ‘यो सहयात्रा सहयात्रामा जुनजुन राजनीतिक दलहरु सहभागी छौं । नीतिगत पृष्ठभूमि र कार्यक्रमिक अवधारणाका आधारमा सहयात्रा बनिरहेको छ ।
यो कुनै काँचो धागोमा अडिएको सहयात्रा होइन’, उनले भने, ‘यो सहयात्रा ५ वर्ष चल्छ । र राष्ट्रपति उपराष्ट्रपति सबै पदहरुमा पूर्व सहमतिअनुसार कार्यान्वयन हुन्छ ।’ सत्ता गठबन्धन टुटने भनेर चलिरहेको हल्लामा सत्यता नभएको दावी पनि गरे । ‘हल्ला धेरै चल्छ । त्यो हल्ला एकातिर चल्छ, घटनाक्रम अर्कोतिर अघि बढ्छ । यो तपाईहरु सबैलाई थाहा भएकै विषय हो । हाम्रो लामो अनुभवले पनि यही कुरा बताउँछ । त्यसकारण हल्लामा विश्वास नगर्नका लागि र हल्लाका विषयलाई समाचार नबनाउनका लागि म आग्रह गर्न चाहान्छु’, पौडेलको भनाइ छ ।
नेता पौडेलले राष्ट्रका सबै विषयमा सहमति भइदिए झन राम्रो हुने टिप्पणी गरेका छन् ।
प्रतिक्रिया