राजनीतिक पृष्ठभूमि नभएपनि देश र जनताको सेवामा निष्ठापूर्वक लाग्ने : सर्वेन्द्र खनाल


तनहुँ–१ को प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले आफ्नो उम्मेदवारीमा विकास र सेवाबाहेक अरू स्वार्थ नभएको बताएका छन्।

बुधबार प्रेस चौतारी तनहुँले आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले देश र जनताको सेवा गर्नका लागि उम्मेदवारी दिएको बताएका हुन्। ‘यही ठाउँले जन्माएको छोरो हुँ, यही माटोको कसम खाएर भन्छु बिकास र सेवा बाहेक अन्य स्वार्थ छैन,’ खनालले भने। ३० वर्षसम्म राष्ट्रसेवकका रूपमा काम गरिसकेको बताउँदै खनालले तनहुँ–१ मा आफूभन्दा योग्य उम्मेदवार अरू नभएको बताएका छन् ।

राजनीतिक पृष्ठभूमि नभएपनि देश र जनताको सेवामा निष्ठापूर्वक लाग्ने खनालले बताए। ‘मैले छल र जालको राजनीति गर्न जान्दिन तर राष्ट्रिय हितका लागि गरिने राजनीति राम्री जानेको छु’ खनालले भने।

लामो समय राष्ट्रसेवकका रूपमा काम गरेको अनुभव रहेको र त्यो अनुभवबाट भ्रष्टाचार र बेथिती नियन्त्रण र न्यूनिकरणका लागि योगदान गर्नसक्ने दाबी खनालले गरे। उनले बिगतको कार्य दक्षता र योगदान नै आफ्ना जीतका आधार भएको उनले स्पष्ट पारे ।