दाङ – दाङमा चट्याङ लागेर दुई जना मृत्यु भएको छ । शनिबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर दंगीशरण गाउँपालिका- ६ बागरका ३२ बर्षीय समीर केसी र वडा नं. ३ चखौराका ३७ बर्षीय रामनारायण चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चट्याङ लागेर घाइते भएका उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए ।
चट्याङ भनेको के हो, कसरी जोगिने ?
चट्याङ विद्युतीय करेन्ट हो । बादल आपसमा ठोक्किएर त्यसका अणुहरुबीच घर्षण हुँदा विद्युत् उत्पन्न हुने अवस्था नै चट्याङ हो । आकासबाट जमीनमा खस्ने एक प्रकारको विद्युतीय शक्ति चट्याङ् हो । वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर बनी अचानक हुने विद्युतीय विस्फोटन चै चट्याङ् हो ।
चट्याङ पर्दा कुनै पदार्थ पृथ्वीमा खस्ने नभई ठुलो विद्युतीय तापशक्ति पृथ्वीमा आउने हुँदा जुनसुकै चिजलाई पनि नष्ट गर्न सक्ने क्षमता हुन्छ । रुख, टावर, अग्ला ठाउँहरुमा चट्याङ बढी पर्छ र यसलाई सजिलो बाटो दिनुपर्छ । सामान्यरुपमा कम्तीमा आठ एमएम रड कुनै भवनको छतको माथि ठड्याई त्यसलाई जमिनसम्म जोडेर राख्ने हो भने पनि घरलाई जोगाउन सकिने डा शर्मा बताउनुहुन्छ ।
प्राकृतिक प्रकोप भएकाले चट्याङ रोक्न सकिँदैन तर त्यसबाट बच्ने उपाए भने खोज्न सकिन्छ । घर बाहिर भएमा वर्षातको बेलामा होचो स्थानमा बस्ने, पानी, खोला, रुख, पोखरीमा नबस्ने, विद्युत् लाइन, कम्प्युटर बन्द गर्ने गर्नुपर्छ । चट्याङ पर्दा खुला ठाउँमा टाउको र खुट्टा जोडेर बस्नु उत्तम हुन्छ । पानीमा काम गर्न र पौडी खेल्न पनि हुँदैन ।
सकेसम्म घरभित्रै झ्यालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्नुपर्छ । पानी परेको वा गर्जिएको बेला घर बाहिर ननिस्किनु उत्तम हुन्छ । ठूला रुख, विजुलीका तार, पोल तथा ट्रान्समिटरको तल बस्नु हुदैन । विजुलीको राम्रोसँग अर्थिङ गर्नुपर्छ ।
प्रतिक्रिया