जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता मनीषकुमार सुमनले पार्टीको नयाँ विधानले उपेन्द्र यादवलाई नभएर संस्थालाई शक्तिशाली बनाउने दाबी गरेका छन् ।
‘पार्टीको नयाँ विधानले जनसंख्याका आधारमा ९० प्रतिशत पद आरक्षित गरेको छ, जसपा पूर्ण समानुपातिक, समावेशी र सामूहिक नेतृत्वमा चल्ने दक्षिण एसियाकै उत्कृष्ट विधान भएको दल भएको छ । यसले पद र संस्थालाई शक्तिशाली बनाएको छ, अमुक व्यक्तिलाई होइन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने । नेपाल प्रज्ञाप्रतिष्ठान, काठमाडौं आजदेखि सुरु हुने जसपाको विधान अधिवेशनमा आठ सयभन्दा बढी प्रतिनिधि भेला हुँदैछन् । https://youtu.be/GBgabGEjI68
पार्टीमा उपेन्द्र यादवले परिवार र एकलौटी नलादेको पनि सुमनले बताए । उनले भने, ‘यो कल्पित प्रश्न हो । हाम्रो विधानले परिवारवाद गरेको कल्पनै छैन । उपेन्द्र यादवले एकलौटी गर्ने भए सानोभन्दा सानो निर्णय पनि छलफल प्रक्रियाबाट किन गरिन्थ्यो ?’
बाहिर चर्चा भएजस्तो जसपा कमजोर नभएको पनि समुनले दाबी गरे । उनले थपे, ‘म जसपाको ७७ जिल्लामै राम्रो संगठन छ भन्ने ढिपी गर्दिनँ । एकदुई जिल्लामा त हाम्रो जिल्ला समिति नै छैन । कहीं जिल्लामा कम, कहीं जिल्लामा बढी छ । मधेस, लुम्बिनी र कोसी प्रदेशमा पार्टीको संगठन कमजोर छैन । तर जसपाजस्तो व्यवस्थित, अनुशासित र सुसंगठित पार्टी अरु छैनन् ।’
नवगठित समाजवादी मोर्चा कुनै दलविरुद्ध लक्षित नभएको पनि उनले बताए । सुमनले भने, ‘संघीयता र दलीय व्यवस्था खारेजीका लागि भइरहेका कोठे बैठकविरुद्ध पनि हामी एकीकृत हुनु जरुरी थियो । यो समान विचार मिल्नेहरुबीचको ध्रुवीकरण हो । एकअर्काेसँग विलय भएको होइन । तर यो मोर्चा यो कुनै दलविशेषविरुद्ध लक्षित छैन ।’
मन्त्री, प्रधानमन्त्रीको जिल्लालाई मा सुशोभित गर्ने बजेट संशोधन नगरे पास गर्न जसपा मजबुर नभएको पनि उनले औंल्याए । नेता सुमनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार एकदम सुरक्षित रहेको पनि बताए । उनले भने, ‘एमाले धमिलो पानीमा माछा मार्ने पार्टी हो । छल गर्ने पार्टी हो । केपी ओलीको छलछामीसँग हामी लसपसिँदैनौं ।’
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी सिनेमा बन्द रगराउनु सकारात्मक नभएको टिप्पणी पनि उनले गरे । सुमनले भने, ‘सिनेमा मनोरञ्जनको साधन हो । सिनेमाले मनोरञ्जनका साथ ज्ञान पनि दिन्छ । हिन्दी सिनेमा विश्वमै उत्कृष्ट छ । तथ्यले पनि भन्छ, काठमाडौंका दर्शकले नेपालीपछि हिन्दी च्यानल, हिन्दी टीभी सिरियल, हिन्दी सिनेमा बढी रुचाउँछन् । आदिपुरुषले गलत तथ्य प्रस्तुत गरेको छ भनेर भारतले स्विकारिसकेको अवस्थामा हिन्दी सिनेमा रोक्नु पूरै दादागिरी मात्र हो । संस्कृति र राष्ट्रवादको नाममा दर्शकको चाहनामा बेइमानी नगर्नुस् । दर्शकको मनको सम्मान नगर्नु सनक मात्र हो । अदालतको आदेश मान्नु हाम्रो कर्तव्य हो । कानुनमाथि कोही छैन । बालेनजी को हो र ?’
ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राखेर छिमेकी मुलुकसँग निहुँ खोज्ने बहाना खोज्नु बालेनको बालापन भएको पनि उनले दोहोर् याए । उनले भने, ‘संविधानमा कोरिएको नक्सा नै नेपालको नक्सा हो । अरु नक्सा टाँग्नु बालेनको बालापन हो । छिमेकी मुलुकसँग निहुँ खोज्ने बहाना खोज्नु खेदजनक छ ।’
प्रतिक्रिया