Logo

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन जाँदै

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सात सदस्यीय प्रतिनिधिमण्डलसहित आजदेखि पाँचदिनसम्म चीनको सिचुवान प्रान्तको भ्रमणमा रहनुहुनेछ। राती ११: २० को उडानमार्फत छेन्दु अन्तराष्ट्रिय विमानस्थमा अवतरण भई बुधबार उहाँ ‘पश्चिमी चीन अन्तराष्ट्रिय मेला’को स्वागत भोजमा सरिक हुनुहुनेछ।

उपप्रधानमन्त्री श्रेष्ठले बिहिबार ‘पश्चिमी चीन अन्तराष्ट्रिय मेला’को उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्नुहुनेछ भने दिउँदो छेन्दुको योजना प्रदर्शनी हल र अन्तराष्ट्रिय मित्र शहर सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्नुहुनेछ। सोही दिन साँझ उहाँ चिनियाँ कम्युनिष्ट पार्टी, सिचुवान प्रान्तका नेताद्वारा आयोजित रात्रीभोजमा सरिक हुनुहुनेछ।

उपप्रधानमन्त्री श्रेष्ठले शुक्रबार सिचवान विश्वविद्यालय नेतृत्वसँग भेटघाट गर्नुहुनेछ भने त्याहाँ अध्ययनरत चाइनिज, नेपाली र अन्य विदेशी विद्यार्थीहरूलाई सम्बोधन मन्तव्य समेत दिनुहुनेछ। त्यसपछि उहाँले विश्वविद्यालयको ‘हाइड्रोलिक्स’ र ‘माउन्ट रिभर इन्जिनियरिङ’ प्रयोगशालाको अवलोकन गर्नुहुनेछ। दिउँसो सिचुवान एयरलाइन्स र प्रान्तीय लगानी समुहका अधिकारीहरूलाई भेट्नुहुनेछ।

शनिबार बिहान उहाँले भुकम्पपछि पुनर्निर्माण भएको यिन्छियुको र जिपिङ्पुस्थित ‘हाइड्रो जक्सन’को अवलोकन भ्रमण गर्नुहुनेछ। दिउँसो दुजियाङ्गानस्थित चीनकै पुरानो सिंचाइ प्रणाली र ग्रामीण पुनरुत्थानको अवलोकन भ्रमण गर्नुहुनेछ।

शनिबार नै छेन्दु फर्किएर आइतबार बिहानको उडानमार्फत बिहान ११:१० बजे उहाँ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रनुहुनेछ। प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापा, गृहमन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उद्योग मन्त्रालयका सहसचिव महेश बराल, उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका संवाददाता अशोक घिमिरे र अङ्गरक्षक बाबुराम खरेल हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्