Logo

काङ्ग्रेस सभापति देउवा भोलि जिल्ला भेलाको लागि सुनसरी जादै, यस्तो छ कार्यक्रम |

सुनसरी । पुर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा भोली श्रावण ६ गते शनिवार सुनसरीको सदरमुकाम इनरुवा जाने भएका छन् । नेपाली काङ्ग्रेस सुनसरी जिल्ला कार्यसमितिले आयोजना गरेको जिल्ला भेला तथा पार्टीका पुर्व सभापति एवं पुर्वप्रधानमन्त्री विपी कोइरालाको पुर्ण कदको सालिक अनावरण कार्यक्रममा सहभागी हुन् सभापति देउवा शनिबार ११ बजे इनरुवा जाने भएका हुन् ।

सभापति देउवा सँगै पार्टीका वरिष्ठ नेता शेखर कोइराला पनि जाने भएका छ्न नेपाली काङ्ग्रेस सुनसरीले जनाएको छ । पुर्वप्रधानमन्त्री समेत रहेका काङ्ग्रेस सभापति देउवा र वरिष्ठ नेता कोईरालाले नेपाली काङ्ग्रेस सुनसरी जिल्ला कार्यसमितिले पार्टी कार्यालयमा आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

सभापति देउवा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन-२०७९ पछि पहिलोपटक काङ्ग्रेसको लाल किल्ला सुनसरी पुग्ने छन् । पछिल्लो समय सुनसरीमा काङ्ग्रेस कम्जोर भइरहेको बेला सभापति देउवा आफैं सम्बोधन गर्न सुनसरी जाने भएका छन् ।


उक्त अवसरमा सभापति देउवा प्रमुख अतिथी रहनुहुने छ भने पार्टीका वरिष्ठ नेता शेखर कोईराला विशिस्ट अतिथि रहनु हुनेछ । पार्टीका केन्द्रीय सदस्य तथा नेपाली काङ्ग्रेस सुनसरीका पुर्व सभापति राजीव कोईराला, केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य राजीव ढंगाना, केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, जिल्ला सभापति केदार भण्डारी र नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र-४ का सभापति ऐयुब अन्सारी, नेपाली काङ्ग्रेसका प्रभावशाली तथा चर्चित नेता हाजी गफार अन्सारी लगायत प्रमुख वक्ता रहनु हुनेछ ।

पार्टिको पछिल्लो गतिविधि, राजनैतिक घटनाक्रम र पार्टीको संगठन विस्तारको सन्दर्भमा पार्टीका नेता तथा कार्यकर्तालाई सन्देश दिनपनि यो कार्यक्रम गरिएको आयोजकले जनाएको छ । भोली हुने यस कार्यक्रमबाट सभापति देउवाले देशभरिका नेता कार्यकर्तालाई अब सशक्त भएर पार्टिको काममा लाग्न, जनताको घर दैलोमा जान सुझाब तथा निर्देशन दिने आंकलन गरेको आयोजकले जनाएको छ ।

सभापति देउवा इनरुवा जाने भएपछि काङ्ग्रेस सुनसरीका सभापति केदार भण्डारीले जिल्लाका सबै पालिका र वडा तहसम्मका नेता कार्यकर्ताहरुलाई कार्यक्रममा सहभागी हुनका लागि पत्राचार तथा सुचना जारी गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्