बाल सुधार गृहबाट फरारमध्ये थप १० जना पक्राउ, अझै भएन मृतकको शव परीक्षण


भक्तपुर, भदौ ६ । मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट सोमबार फरार भएकामध्ये प्रहरीले थप १० जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो सुधार गृहको पछाडिको गेट भत्काएर भागेका दुई सय २१ जना बन्दीमध्ये प्रहरीले पक्राउ गर्न बाँकी १७ जनामध्ये मंगलबार दिनभरमा १० जना पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए ।

फरार रहेकामध्ये सोमबार रातिसम्ममा दुई सय चार जनालाई पक्राउ गरेको र मंगलबार थप १० जनालाई उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरेको उनले बताए । बाँकी सात जना पनि आजसम्म पक्राउ गरिसक्ने उनको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापबाट २०७७ जेठ २९ गते १८ वर्षको उमेरमा पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा सजाय भुक्तान गर्न बाल सुधार गृह सानोठिमीमा ल्याइएका रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको उच्च ज्वरोलगायतका कारण आइतबार बिहान मृत्यु भएपछि सुधार गृहमा सुरु भएको घटनाले सोमबार भयावह रुप लिएको थियो ।

सोमबार दिउँसो घरेलु हतियार लिएर गेट भत्काएर बाहिर निस्किएका बन्दीले प्रहरीलाई लखेट्दै कुट्ने गरेपछि प्रहरीले दुई राउण्ड अश्रृग्यास प्रहार गर्नुका साथै तीन राउण्ड गोली चलाएको थियो । घटना १९ सुरक्षाकर्मी र १० जना बन्दी गरी २९ जना घाइते भएका थिए । केही घाइते उपचारपश्चात् फर्किएको र बाँकीको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सुधार गृहबाट उपचारका लागि नागरिक अस्पताल पुर्‍याएपछि मृत्यु भएका बस्नेतको अझै शव परीक्षण भएको छैन । मृतकका परिवार तथा आफन्तले प्रहरीमा जाहेरी नदिएकै कारण शव परीक्षण हुन नसकेको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

उनले मृतकका परिवारसँग भएको छलफलमा आज बुधबार जाहेरी दिने र त्यसपछि शव परीक्षण गर्ने तयारी भएको जानकारी दिए । सुधार गृहभित्र आइतबारबाट भएको घटनाले उग्ररुप लिए पछि तीनदिनदेखि यहाँ रहेका बालबालिका भने त्रसित रहेका छन् ।

आइतबारको घटनापछि जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले घटनाबारे यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा गठन गरेको छानबिन समितिले काम सुरु गरेको छ ।