Logo

आजदेखि बडादसैँ सुरु, आज पहिलो दिन घटस्थापना

हिन्दूहरूको महान पर्व बडादसैँ आजदेखि सुरु भएको छ । १५ दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दसैँघरमा शक्तिकी अधिष्ठातृ देवी दुर्गाको आह्वान गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आरम्भ हुन्छ । नौ दिनसम्म देवी दुर्गाको नौ स्वरूपको शोडष उपचार विधिबाट पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रूपमा पुज्ने परम्परा छ ।

घटस्थापनाको दिन बिहान चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठामा शुभसाइत विधिपुर्वक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ । यसैलाई जमरा राख्ने भनिन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले पहिलो दिन रोपेर दशमीको दिन पूजा विसर्जनपछि पुर्ण कलशको जलले अभिषेक गरी जमरालाई प्रसादका रूपमा परिवारका ज्येष्ठ सदस्य वा पुरोहितबाट ग्रहण गर्ने परम्परा रहेको छ । कुल परम्परा र स्थान विशेष अनुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि छ ।
कात्तिक ७ गते देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेकोे छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ बजेर २ मिनेटको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पुर्णीमा सम्म देवीको प्रसाद लगाउने चलन छ ।

विजया दशमीदेखि कोजाग्रत पुर्णीमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।पुर्णीमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ ।
यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पुर्णीमाकै दिन चोखो स्थानमा विसर्जन गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्