उपप्रधानमन्त्री श्रेष्ठ र विश्वका धनीहरूको संगठन फ्रिडम फन्ड टोलीबीच भेटवार्ता


काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा आएका विश्वका धनीहरूको संगठन फ्रिडम फन्डका पदाधिकारी तथा प्रतिनिधिबीच आज गृह मन्त्रालय, सिंहदरबारमा भेट तथा अन्तरक्रिया सम्पन्न भएको छ। भेटमा नेपाल सरकारका प्राथमिकता र फ्रिडम फन्डले गर्नसक्ने सहयोगका बारेमा छलफल भएको थियो।

श्रमिक एवम् कामदारहरूमाथि हुने घरेलु , लैङ्गिक र आर्थिक हिंसाविरोधी अभियानमा सामाजिक संस्थामार्फत सहयोग पुर्‍याउँदै आएको फ्रिडम फन्डले नेपाल सरकारसँगसमेत सहकार्यको प्रस्ताव गरेको थियो। त्यसक्रममा टोली प्रमुख नताशा डोल्बी र प्रतिनिधिहरूले अनुचित लेनदेन(मिटरव्याज) नियन्त्रणसम्बन्धि कानुन निर्माण र लागु गरेकोमा उपप्रधानमन्त्री श्रेष्ठप्रति आभार व्यक्त गर्नुभएको थियो।

उपप्रधानमन्त्री श्रेष्ठले कृषि, हाइड्रोपावर, पर्यटन र जडिबुटी गरी नेपालको विकासका मुख्य चार क्षेत्रमा सहकार्य जरुरी रहेको बताउनुभयो। राजनीतिक परिवर्तनलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा एकाकार गर्ने मुल लक्ष्यमा वर्तमान सरकारको मुल जोड रहेको र सबै सहकार्य र सहयोगहरू त्यसैमा केन्द्रित होस् भन्ने चाहना आफुहरूको भएको उहाँले बताउनुभयो।

सन् २०२६ देखि नेपाल विकासशील देशमा स्तरोन्नति हुने भएकाले पनि भौतिक र सामाजिक विकासको रफ्तारलाई अघि बढाउन सहयोगको खाँचो रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो। टोली प्रमुख र प्रतिनिधिहरूले राजनीतिक परिवर्तन र भौतिक विकासलाई सामाजिक न्यायसहित अगाडि बढाउने सरकारको प्राथमिकताको प्रशंसा गर्नुभएको थियो। नेपालमा वालविवाहको दर घट्दै गएकोमा समेत उहाँहरूले खुशी व्यक्त गर्नुभयो।

धेरै नेपालीहरू विदेश गइरहेको र त्यसले यहाँको विकास प्राथमिकतामा पर्नसक्ने असरबारेको उहाँहरूको जिज्ञासामा उपप्रधानमन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको माग पुरा गर्दा यस्तो देखिएको तर कमाउन जाने र कमाएर आउने क्रम उस्तै रहेको बताउनुभयो।