महोत्तरीको जंगलमा मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीकी युवतीको मृत्यु


बैशाख १६ सर्लाही । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको जंगलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा सर्लाही बागमती नगरपालिका वडा नम्बर ४ बस्ने २२ वर्षिया स्मृति कार्की रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। दुर्घटनापछि उपचारका लागि जनकपुरधाम लैजाँदै गरेको अवस्थामा उनको मृत्यु भएको हो।

सर्लाहीबाट महोत्तरीतर्फ जाँदै गरेको प्रदेश २-०३-००७ प ३३६९ नम्बरको मोटरसाइकल आज बिहान करिब नौ बजे अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो।

मोटरसाइकलमा सवार अर्की ५० वर्षिया महिलाको अवस्था भने गम्भीर रहेको प्रहरीको भनाइ छ। उनलाई जनकपुरमा उपचार गरी थप उपचारका लागि काठमाडौं लगिएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर राखिएको प्रहरीले जनाएको छ।