Logo

चालु आवमा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान

काठमाडौं– सरकारले चालू आर्थिक वर्ष २०८०/८१ मा ३ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । आइतबार प्रतिपक्षी सांसदको नारावाजीकाबीच प्रतिनिधिसभामा चालू आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको बताए ।

उनले चालू आर्थिक वर्ष कुल लगानी २ दशमलव ८ प्रतिशतले बढेर १७ खर्ब ४१ अर्ब ४८ करोड पुग्ने अनुमान रहेको बताए । त्यस्तै प्रति व्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर पुग्ने अनुमान पनि गरिएको छ भने चालू आर्थिक बर्षको फागुनसम्म औसत मुद्रा स्फीतिदर ६ दशमलव ०८ प्रतिशत रहेको बताए । चालू वर्षको फागुनसम्म सङ्घीय सरकारको राजश्व सङ्कलन ६.९ प्रतिशतले बढेर ६ खर्ब ३९ अर्ब ५ करोड पुगेको भन्दै उनले संघीय खर्च २.९ प्रतिशतले बढेर ८ खर्ब १ अर्ब ९८ करोड पुगेको जानकारी दिए ।

फागुनसम्म कूल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको रकूल ऋणमध्ये आन्तरिक ऋण ४९.६ प्रतिशत र बाह्य ऋण ५०.४ प्रतिशत रहेको उनले बताए। त्यस्तै अर्थमन्त्री पुनले फागुनसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ५.६ बढेको, बैंक तथा वित्तीय संस्थाको शाखा सञ्जाल बढेको जानकारी दिए। उनले मुलुकको आर्थिक अवस्था क्रमश सुधार हुँदै गएको बताए ।

प्रतिक्रिया दिनुहोस्