Logo

आर्थक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं– सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा बिपक्षीको विरोधकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेकोे नीति तथा कार्यक्रममाथि छलफल गरि बहुमतले पारित गरिएको हो ।

त्यसअघि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्री प्रचण्डले संसदको अवरोध हटाएर बजेट ल्याउने गरि छलफल भइरहेको जानकारी दिए । कांग्रेस सभापतिसंगको भेटवार्ता सकारात्मक भएको भन्दै उनले बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको प्रस्तुत नीति तथा कार्यक्रमले सामाजिक आर्थिक रुपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकांक्षा पुरा गर्ने लक्ष्य लिएको बताए । सरकारले आत्मनिर्भर कृषि अर्थतन्त्रको विकास, उद्यमशीलताको प्रवर्द्धन, पूर्वाधार विकास तथा रोजगारी सिर्जना गर्दै सूचना प्रविधि क्षेत्रलाई उत्पादन तथा उत्पादकत्वमा वृद्धिको मुख्य संवाहकका रुपमा विकास गर्न जोड दिएको उनले बताए । त्यस्तै प्रधानमन्त्री प्रचण्डले सामाजिकरुपमा उपेक्षित उत्पीडित वर्गको न्यायमा पहुँचको लागि कतिपय विशिष्ट कार्यक्रम प्रस्ताव गरिएको जानकारी दिए ।

प्रधानमन्त्रीको जवाफपछि सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथिको संशोधनलाइ निणयार्थ प्रस्तुत गर्दा अस्वीकृत भएको थियो । सभामुख घिमिरेले आगामी जेठ १५ गते दिनको १ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्