सन्दीपलाई भिसा दिन दूतावासको आनाकानी: पहल गरिदिन सबैलाइ सन्दीपको आग्रह


काठमाडौं– पूर्व कप्तान तथा क्रिकेटर सन्दिप लामिछानेले संयुक्त राज्य अमेरिकाको भिसाका लागि अन्तिम पटक पहल गरिदिन सबैलाई आग्रह गरेका छन् । उनले पछिल्लो समयमा सामाजिक सञ्जाल फेसबुकको स्टोरीमार्फत अन्तिम पटक पहल गरिदिन आग्रह गरेका हुन् । उनले लेखेका छन्, ‘अन्तिम नृत्य, अन्तिम प्रयास, सबै जनालाई धन्यवाद ।’

उनको सो स्टोरीमार्फत अन्तिम पटक भिसाका लागि संयुक्तरुपमा पहल गर्न अनुरोध गरेका हुन् । आइसिसि पुरुष टी–२० विश्वकपमा नेपालले जेठ २२ गते पहिलो खेल नेदर्सल्याण्डसँग खेल्दै छ ।

आजबाट आइसिसि पुरुष टी–२० विश्वकपको वार्म अप खेल सुरु हुँदै छ । वार्म अपको पहिलो खेलमा नेपाल क्यानडासँग खेल्दै छ । खेल आज नेपाली समयअनुसार राति सवा नौ बजे तथा स्थानीय समय अनुसार बिहान १०ः३० बजे संयुक्त राज्य अमेरिकास्थित प्रेरी भ्यू मैदानमा हुनेछ।

वार्म अप खेल भइरहदा पनि नेपाली क्रिकेट टोली भने सन्दीप लामिछानेकै पर्खाइमा रहेको छ । नियमानुसार नेपाल क्रिकेट सङ्घ (क्यान) ले दुई दिनअगाडि जेठ १२ गते १५ सदस्यीय खेलाडीको अन्तिम सूची दर्ता गर्नुपर्ने थियो । सन्दीप लामिछानेको भिसा लाग्ने विश्वासमा क्यानले हाल १४ जनाको नाम भएको सूची मात्र बुझाएको छ।

यता टी–२० विश्वकपमा सहभागी हुन जान अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छैन ।