आज उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने, चट्याङसहित हल्का वर्षाको सम्भावना


काठमाडौं– काठमाडौं उपत्यकामा शुक्रबार ३३ डिग्री सेल्सियस पुग्नेछ । जल तथा मौसम विज्ञान विभागले आज काठमाडौंको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबिचमा रहने जनाएको छ । विगत केही दिनदेखि तापक्रम बढ्दै गइरहेको छ । बिहिबार उपत्यकाका तापक्रम ४४.४ डिग्री सेल्सियस पुगेको थियो ।

त्यस्तै विभागले आज काठमाडौँ उपत्यकामा अपराह्न मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने जनाएका छ । यसैगरी हाल मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।