काठमाडौं– बेलायतको मेनचेष्टरमा आयोजना भएको ‘वुमन अफ द वल्र्ड फेस्टिभल’ मा सहभागी भएर काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल आज स्वदेश फर्किएकी छिन् । स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा फेस्टिभलका विषयमा कुरा गर्दै उनले आउँदो नोभेम्बरमा काठमाडौंले व्रिटिस काउन्सिलसँगको सहकार्यमा फेस्टिभल आयोजना गर्ने बताइन् ।
‘विश्वका महिलाहरुको पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिकलगायत विविध आयामबाट अवस्था बुझ्ने अवसर प्राप्त भयो । वास्तवमा यो अपूर्व अवसर थियो ।’ डंगोलले भनिन्, ‘अवस्थालाई अवसरमा रुपान्तरण गरिएका कथाहरु हाम्रा लागि सिकाइ बनेका छन् । यो सिकाइलाई हामी महिलाहरुको सार्थक र सक्रिय सशक्तिकरणका लागि उपयोग गर्छौँ ।’
सम्मेलनमा संगीत, कला, साहित्य, राजनीति, अभियन्ता, लेखकसहित विभिन्न क्षेत्रका विश्वस्तरका वक्ताहरुलाई आमन्त्रण गरिएको थियो । राजनीति क्षेत्रको प्रतिनिधित्व गर्दै अष्टे«लियाकी पहिलो महिला प्रधानमन्त्री जुलिया गिलर्ड र काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विचार राखेका थिए । फेस्टिभलको संवाद सत्रमा उनीहरुलाई ‘वुमन अफ द वल्र्ड’ अभियानकी संस्थापक जुड केलीले संवाद गरेकी थिइन् ।
संवादमा महिलाहरुका परिस्थिति र प्रतिकुलताबाट उठ्नका लागि गर्न सकिने सहभागितामूलक कामका विषय समेटिएका थिए । संवादमा उपप्रमुख डंगोलले नेपाली राजनीतिमा महिलाहरुको सहभागिता बढ्दै गएको बताएकी थिइन् ।
प्रतिक्रिया