काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले गिरीबन्धुको फाइल खोल्ने तयारी भइरहेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा सांसद झाले आफ्नो पार्टी सरकारमा गएपछि टिकापुर, बाँसबारी जग्गा प्रकरणको छानविन गरेको भन्दै भूटानी शरणार्थी प्रकरणको पुनः छानविन गर्ने र गिरीबन्धुको पनि फाइल खोल्ने तयारी भइरहेको बताएका हुन् ।
‘हाम्रो केही सरोकार पनि छन् । हामी संलग्न कुनै अभियोगहरूमा यति आवाज उठाउँदै गर्दा मेरा पनि केही आवाजहरू छन्,’ उनले भने, ‘बाल मन्दिरको जग्गा, बाँसबारीको जग्गा, टीकापुरको जग्गा, गिरिबन्धु, टेरामक्सको फाइल खोल्न चाहन्छौं,’ उनले भने । विगतमा यी प्रकरणको फाइल नै नबनेकाले खोल्न नसकेको उनको भनाइ छ ।
उनले सहकारी प्रकरणमा आफुहरुले ससर्त छानविन समिति बनाउन तयार रहेको जनाएको र त्यहि आधारमा अहिले संसदीय छानविन समिति बनेको धारणा राखे । आफूहरु प्रसस्तै विकल्प छाडेर देशका लागि केहि गर्न राजनीतिमा होमिएको उनले बताए । आफूहरु राजनीतिमा आएको २३ महिना, संसदमा आएको १७ महिना र सरकारमा आएको १२२ दिनमात्रै भएको भन्दै आफूहरुले राम्रो काम गर्ने प्रयास गरिरहेको बताए ।
सांसद झाले संसदमा बोल्ने क्रममा केहि नेताहरुले परिवर्तनको क्रेडिट लिन खोजेको भन्दै राजनीतिमा सबै परिवर्तनको क्रेडिट लिने काम उचित नभएको जिकिर गरे । लामो समय संसद अवरुद्ध हुँदा जनताका समस्याको उठान गर्न नपाइएको उल्लेख गर्दै उनले संसद खुलेपछि निरन्तर जनताको पक्षमा आवाज उठाइने बताए ।
प्रतिक्रिया