दुईवटा सहकारी ठगीको आरोपमा पक्राउ परेका सिबि जो पहिले सञ्चारकर्मी थिए


काठमाडौं– दुइवटा सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सीबी (चन्द्रबहादुर) लामालाई प्रहरीले सार्वजनिक गरेको छ । चितवनको भरतपुरबाट शुक्रबार पक्राउ परेका लामालाई आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सार्वजनिक गरेको हो ।

काभ्रेको तेमाल गाउँपालिका–५ घर रहेका ४९ वर्षीय लामामाथि सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ र पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको बचतकर्ताको बचत अपचलन गरेको आरोप छ । उनीविरूद्ध गत फागुन २० गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। उनीविरुद्ध एक अर्ब ६३ करोड रुपैयाँभन्दा धेरै रकम बिगो गरेको जाहेरी परेको छ ।

लामाविरूद्ध कान्तिपुर सहकारीका ८ सय ५२ जनाले जाहेरी दिएका छन् । जसमा बिगो रकम एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रहेको प्रहरीले जनाएको छ।  त्यसैगरी पशुपति सहकारीमा पनि अन्दाजी १२ करोडको बिगो माग भएको प्रहरीले जनाएको छ।

लामा सुरुमा सञ्चारकर्मी रहेको समेत अनुसन्धानबाट खुलेको छ । उनले ओसिन एड्भर्टिजमेन्ट मिडियामा २०४९ देखि २०५२ सालसम्म रिपोर्टर भएर काम गरेका थए । त्यसपछि प्राविधिक सहायक तहको ओभरसियर पदमा रहेर समेत काम गरेका थिए ।

२०५५ देखि २०७६ पुस २४ सम्म उनी कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको अध्यक्ष रहेर काम गरेका थिए । एउटै व्यक्ति दुई संस्थाको अध्यक्ष रहन नमिल्ने नेपाल सरकारले नियम ल्याएपछि उनले कान्तिपुरबाट राजीनामा दिएर पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको अध्यक्ष बनेका थिए । पशुपित सहकारीमा २०५५ सालदेखि हालसम्म लामा नै अध्यक्ष छन् ।

उनी २०५९ सालमा कान्तिपुर अस्पतालका अध्यक्षसमेत भएका थिए । उनले तीनकुनेमा कान्तिपुर एकेडेमी अफ हेल्थ साइन्स समेत सञ्चालन गर्दै आएका थिए। सहकारीको रकमले उनले ४ सय रोपनीभन्दा बढी जग्गा किनेको र ३२ स्थानमा घरजग्गा रहेको विवरण सार्वजनिक गरिएको छ । लामाविरूद्ध चार वटा बैंकिङ कसुरको मुद्दा चलिसकेको र तीन वटामा फरार रहेको कायम रहेको प्रहरीले उल्लेख गरेको छ ।

उनीमाथि थप अनुसन्धानका लागि सुरूमा प्रहरी वृत्त बानेश्वरमा पठाइने र पछि पशुपति सहकारीको अनुसन्धानका लागि सिआइबी पठाउने प्रहरीको तयारी छ।