गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको पूरक जाहेरीको प्रतिलिपि झिकाउन सर्वोच्चको आदेश


काठमाडौं– सूर्यदर्शन सहकारीको रकम अपचलनका विषयमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको पूरक जाहेरीको प्रमाणित प्रतिलिपी पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार न्यायधीश तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला प्रहरी कार्यालय कास्कीमा परेका उक्त पूरक जाहेरीको प्रमाणित प्रतिलिपी झिकाउने आदेश दिएको हो ।

सूर्यदर्शन सहकारीका बचतकर्ताले २०८० माघ २२ गते रवि लामिछाने, दीपेश पुनसहित विभिन्न व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पूरक जाहेरी दिएका थिए । तर महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीमा आरोपित गृहमन्त्री लामिछानेविरुद्ध कुनै उजुरी नपरेको भन्दै २०८१ वैशाख २४ मा पत्र लेखेको थियो ।

सो पत्र गैरकानुनी भएको भन्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दिएका थिए । सर्वोच्चले महान्यायाधिवक्ता कार्यालयले लेखेको उक्त पत्रको प्रमाणित प्रतिलिपी पनि झिकाउन आदेश दिएको छ । यो मुद्दामा सर्वोच्च अदालतले महान्यायाधिवक्ता कार्यालयलाई पनि छलफलमा बोलाएको छ ।

सर्वोच्चले मुद्दा चाडै टुंगो लाग्नुपर्ने प्रकृतिको देखिएको भन्दै २८ जेठमा अन्तरिम आदेशको छलफलका लागि सुनुवाइको पेशी तोक्न आदेश दिएको छ ।