काठमाडौं– न्युरोड क्षेत्रमा फुटपाथ बढाउन काठमाडौं महानगरपालिकाले भत्काएको सडक कालोपत्रे हुन थालेको छ । महानगरले भत्काएको सडक डिभजनको कार्यालयले सोमबार कालोपत्रे गर्न सुरु गरेको हो ।
सडक डिभिजनले महानगरलाई यसअघि भत्काएको सडक पटक पटक पुनस्थापना गर्न पत्राचार गरेको थियो । शुक्रबार डिभजन कार्यालयले तीन दिनभित्र कार्यालयमा उपस्थित हुन बालेनलाई पत्राचार गरेको थियो । जवाफमा नेपाल सडक मापदण्ड २०७० अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ सडक ३ फुटको चाहिने मापदण्ड रहेको त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्दै उनले सडक डिभिजनलाई प्रश्न गरेका थिए ।
सोभन्दा अघि पनि ३ पटक न्युरोड खण्डको सडक नभत्काउन डिभिजनले महानगरलाई पत्राचार गरिसकेको थियो । पटक पटकसम्म सडकको पुनस्थापना गर्न पत्राचार गर्दापनि महानगरपालिकाले अटेर गरेपछि सडक डिभिजनले आँफै कालोपत्रे गर्न सुरु गरेको जनाएको छ ।
काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै जेठ १२ गते इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे भत्काएको थियो । सडक डिभिजनको आफ्नो अनुमति नलिइ सडक काटेको भन्दै महानगरको निर्माण सामग्रीसमेत नियन्त्रणमा लिएको थियो । जवाफमा बालेनले सडक डिभिजनको कार्यालयको गेटमा एक ट्रक धुलो खन्याइदिएका थिए ।
प्रतिक्रिया