स्वास्थ्य क्षेत्र सरकारको प्राथमिकतामा परेन : डा. तोसिमा कार्की


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले सरकारी तथा निजी क्षेत्रको अस्पतालहरुमा स्वास्थ्य सेवा शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले शुल्क निर्धारण गर्न सरकारसँग माग गरेका हुन् । सांसद कार्कीले स्वास्थ्यकर्मीको दरबन्दी थप्ने र त्यसको व्यवस्थापन गर्ने काममा पनि सरकारल ढिलाइ गर्न नहुने बताइन् । उनले मुलुकको स्वास्थ्य क्षेत्र लथालिंग भएकाले त्यसको नियमनमा उचित ध्यान दिन पनि सरकारलाई सचेत गराइन् ।

‘स्वास्थ्य क्षेत्रलाई त सरकारले कहिल्यै पनि प्राथमिकतामा नराखेको हो कि भनेजस्तो मलाई भान हुन्छ । हुन त झट्ट हेर्दाखेरी ८६ अर्व २४ करोड बजेट राखिएको छ । जुन गत वर्षको भन्दा दुई अर्ब २५ करोड बढेको हो । तर कुल बजेटको प्रतिशत हेर्दाखेरी ४.६४ प्रतिशत मात्र छ । कोभिडको समयमा ८.६ प्रतिशत पुगेको थियो । जुन अहिलेसम्मका हिष्ट्रीमा धेरै हो । त्यो पनि अपर्याप्त छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाल जस्तो विकासोन्मुख मुलुकमा १० प्रतिशत बजेट छुट्टयाउनु स्वास्थ्यतर्फ भनेर स्पष्ट भनेको छ । जुन हामीले पटक पटक भन्दै आएका छौं ,’ सांसद कार्कीले भनिन्, ‘तर त्यसतर्फ सरकारको कुनै प्राथमिकता परेको जस्तो मलाई लागेको छैन । स्वास्थ्य क्षेत्रका सबै लथालिङ्ग भएको अवस्थामा यसको नियमन गर्नुपर्ने पनि अर्को पाटो छ । सरकारले स्वास्थ्य विमालाई आम नागरिकको पहुँचमा कसरी पुर्‍याउने ? ७/८ वर्षमा किन २६ प्रतिशत मात्रै पहुँच पुगेको छ ? यसमा पुनर्विचार गर्नु पर्छ ।’

सांसद कार्कीले आईटी पार्क बनाउने कुरा असफल भईसकेकाले त्यसमा जोड दिने काम नगर्न पनि सरकारलाई सुझाव दिइन् । उनले भनिन्, ‘स्वास्थ्यकर्मीको दरबन्दी थप्ने, उचित व्यवस्थापन गर्ने र स्वास्थ्य सेवा शुल्क निर्धारण गरिनु पर्छ । आईटी पार्क भनेर ३० करोड लगानी गरेर बनाईयो । जुन अहिले खण्डहर जस्तो अवस्थामा पुगेको छ । अहिले हामीले फेरि नयाँ आइटी पार्क बनाउँछौं भनेर योजनाहरु ल्याउँदै गर्दा विगतमा हामी यो कन्सेप्टमा गएर फेल भइसकेको उदाहरण हामीसँग हुँदैगर्दा अब हामी यसमा सफल हुने आधारहरु के छ ? भनेर यसलाई थप स्पष्ट पार्न जरुरी छ ।’