Logo

सीप मेलामा प्रशिक्षार्थीहरु जागिरका लागि कुर्दै, अझै आएनन् रोजगारदाता

काठमाडौं– स्कल्पचर र क्यान्भासमा उतारिएको पेन्टिङ प्रदर्शनमा राखिएको छ । सँगै ती स्कल्पचर र पेन्टिङ बनाएका प्रशिक्षार्थीहरु छन् । उनीहरुले काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सीप मेलामा प्रशिक्षणका क्रममा तयार पारेका कलाहरु प्रदर्शनमा राखिएको छ । भित्तामा स्कल्पचर र पेन्टिङ सिकेका व्यक्तिहरुको नाम, सम्पर्क नम्बर र उनीहरुले लिएको पाठ्यक्रमका बारेमा जानकारी दिने व्यानर राखिएको छ ।

डिजिटल मार्केटिङ, मोबाइल टेक्निसियन, मेकानिकल इन्जिनियरिङ, सिसिटिभि लगायतका सीप सिकेकाहरु पनि तोकिएको ठाउँमा बसेका छन् । उनीहरुको छेवैमा आफुले सिकेको सीपबारे जानकारी दिन डिस्प्ले राखिएको छ । उनीहरु आफुले सिकेको सीपबारे रोजगारदातालाई जानकारी दिन उत्साहित छन् ।

अलि पर पुरोहित सीकेका मानिसहरु बसेको स्टल छन् । उनीहरु समयसमयमा शंख र घण्टी बजाइरहेका छन् ।

सीपमेलाको अर्को क्षेत्रमा फेसन डिजाइनिङ्, सिलाई, चप्पल सिलाउने, सलुन, नेल आर्ट, ब्युटिसियन तालिम सिक्ने व्यक्तिहरुको प्रदर्शन छ । मार्बल, अटोमोबाइल लगायतका तालिम सिकेका व्यक्तिहरुले पनि आफ्नो सीप प्रदर्शन गरिरहेका छन् ।

महानगरपालिकाले सीप मेलामा १० क्षेत्रभित्रका २९ प्रकारका पेशागत तालिम प्रदान गरेको हो । महानगरले अटो मोवाइल्स, निर्माण क्षेत्र, हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, सूचना प्रविधि क्षेत्र, मेकानिकल, गार्मेन्ट्स, व्युटिसियन, डिजाइनिङ्, र पुरोहित क्षेत्रमा तालिम प्रदान गरेको हो ।

काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको सीप मेलामा तालिम लिएका व्यक्तिहरुले आफ्नो तालिम पुरा गरेका छन् । आफुले सिकेको विषयअनुसार उनीहरुले एक हप्ता, १५ दिनदेखि एक महिनाको तालिम पुरा गरेका हुन् ।

काठमाडौं महानगरपालिकाले महानगरमा बसोबास गर्ने व्यक्तिहरुलाई तालिम र रोजगारी प्रदान गर्ने उद्देश्यले गत वैशाख १९ गतेदेखि सीप मेला २०८१ सञ्चालनमा ल्याएको थियो ।
महानगरपालिकाले सीप मेलाबाट २ हजार ८१ जनालाई रोजगार बनाउने लक्ष्यका साथ विभिन्न सीपमुलक तालिम प्रदान गरेको हो । उनीहरुलाई सीप मेलामा सीपमात्र नभइ रोजगारीको लागि समेत सहयोग गर्ने उद्देश्य महानगरपालिकाको थियो ।

सीप मेलामा प्रशिक्षार्थीहरुले सिकेको सीपसँग सम्बन्धित रोजगारदाताहरु मेलामा आउने र योग्य व्यक्तिलाई तालिमसमेत दिने भनिएको थियो । बुधबारदेखि रोजगारदाता आउने भनिएकाले सीप सिकेकाहरु हिँजोदेखि नै रोजगारदाताको प्रतिक्षामा छन् । तर भोली समापन हुन लागेको सीप मेलामा रोजगारदाताहरु देखिएका छैनन् ।

मेलामै उपस्थित रहेका जब्स नेपाल नामका जब एजेन्सी कर्मचारी प्रशिक्षार्थीहरुले आधारभुत तालिम लिएको तर रोजगारदाताले अनुभवी कर्मचारी खोजी गरिरहेका बताउँछन् । इन्टर्नसीपको लागि भने रोजगारदाताले राख्न सक्ने उनको भनाइ छ ।

महानगरपालिकाको श्रम बैंकले भने सीप मेलामा सहभागिता जनाएकाहरुको आवेदन टिपेको छ । सीप सिकेकालाई श्रम बैंकले रोजगारी खोज्न मद्दत गर्ने महानगरपालिकाले जनाएको छ ।
यता सीप सिकेकाहरु सीप मेलाहरुले आफुमा आत्मविश्वास बढेको बताउँछन् । हाल महानगरले सीप मेलामा आधारभुत सीप सिकाएको र आगामी दिनमा एड्भान्स तालिम सञ्चालन गरेमा रोजगारी पाउन सहज वातावरण सिर्जना हुने उनीहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्