आज टी–२० विश्वकपकै सबैभन्दा ठुलो खेल, भारत र पाकिस्तान भिड्दै


काठमाडौं– अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टी–२० विश्वकपअन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन् । समूह ए अन्तर्गत रहेका यी दुई टोली नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आमनेसामने हुन लागेका हुन् । खेल नेपाली समयअनुसार राती सवा ८ बजेबाट सुरु हुने छ ।

यस खेललाई टी–२० विश्वकपकै सबैभन्दा ठुलो खेल भनिएको छ । आइसिसी टि–२० विश्वकपको समुह चरणको पहिलो खेलमा भारतले आयरल्याण्डविरुद्ध सहज जित निकाल्दै राम्रो सुरुवात गरेको छ । यता पाकिस्तानले भने आयोजक देश अमेरिकासँग हार बेहोरेर थियो । सुपर–८ मा पुग्ने सम्भावना कायमै राख्न पाकिस्तानलाई यो खेल जित्नै पर्ने दबाब छ ।

भारत र पाकिस्तानबीच अहिलेसम्म १२ वटा टी–२० खेल भएका छन्। जसमा ९ खेलमा भारतले जित हासिल गरेको छ भने पाकिस्तानले ३ खेल जितेको छ। त्यस्तै टी–२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने सामने भएका छन्। जसमा भारतले ५ पटक जितेको छ भने पाकिस्तानले एक पटक जितेको छ। त्यस्तै एक खेल अनिर्णित बनेको थियो।