
दैलेख– दलितका लागि दलित अभियान नेपालको दैलेखमा जन–प्रदर्शन तथा जागरण सभा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले मानिसलाई जबर्जस्ति दलित बनाएर राज्यले अपराध गरेको बताएका छन् । देश र समाजले दलितको आँशु, रगत बगेको टुलुटुलु हेरेर बसेकाले अब दलित आफ्नो लागि आफै लड्नुपर्ने उनले बताए ।
उनले मञ्चमा उभिएर छुवाछुत विरुद्धको भाषण गर्ने तर घरमा दलितलाई छिर्न नदिने यथार्थ रहेको बताए । दलितको अभियान गैरदलितको विरुद्ध नभएको उनको भनाइ छ । तर कानुन प्रतिबन्ध गरेको कर्म गर्ने छुट कसैलाई नरहेको उनले बताए । दलित आयोग तीनै तहको सरकारमार्फत जातीय विभेद र हिंसाको विरुद्ध काम गरिरहेको अध्यक्ष विश्वकर्माले उल्लेख गरे ।
कर्णाली प्रदेश सभा सदस्य उर्मिला विश्वकर्माले आफू सबै कुरा त्यागेर दलित आन्दोलनमा लाग्न तयार रहेको बताइन् । दलित समुदायको न्याय र मुक्तिका लागि पार्टीभन्दा माथी उठेर लाग्नुपर्ने कर्णाली प्रदेशको निवर्तमान मन्त्री समेत रहेकी विश्वकर्माले बताइन् । कर्मचारी तन्त्रको असहयोगका कारणले दलितको कानुन बन्न नसकेको उनले आरोपसमेत लगाइन् ।

कार्यक्रममा दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले विभिन्न पार्टीमा लागेका दलित अब दलित बन्न तयार हुनुपर्नेमा जोड दिए । ‘हिँजोसम्म अरुका लागि दलित लडे अब दलित आफ्नोका लागि लड्नुपर्छ,’ उनले भने, ‘दलित–दलित एक हुनुपर्छ । आफ्नो अधिकारको लागि छुट्टै शक्ति निर्माण गरेर आत्मसम्मानको अभियानमा जुट्नुपर्छ ।’
कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका टीका सानूले जातीय विभेदविरुद्ध साङ्गीतिक प्रदर्शनी गरेकी थिइन् । कार्यक्रममा भगवतीमाई युवा संजालले समन्वय गरेको थियो भने स्थानीय अन्य संघ सस्थाले सहकार्य गरेका थिए ।
कार्यक्रममा दैलेखको भगवतीमाई गाउँपालिका बेस्तडामा भएको कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार, कर्णाली प्रदेश सभा सदस्य उर्मिला विश्वकर्मा, दलित मुक्ति मोर्चा अध्यक्ष दिनेश चदरा, भगवतीमाई गाउँपालिकाकी उपाध्यक्ष मिना कुमारी खड्का, चर्तित कलाकार टीका सानू, दलित जनप्रतिनिधि, दलित अगुवा, अभियन्ता, दलित पत्रकार संघ, कलाकार, लगायत हजारौँ दलित समुदायको सहभागिता थियो ।















प्रतिक्रिया