Logo

शारदा माविका तत्कालीन प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– सङ्खुवासभाको धर्मदेवी नगरपालिका वडा नं– ४ स्थित शारदा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापकसहित चारजना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ । तत्कालिन प्रधानाध्यापक कृष्णहरि भट्टराईसहित चार जनाविरुद्ध बुधबार विशेष अदालत, काठमाडौँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

तत्कालीन प्रअ भट्टराईका साथै विद्यालयका तत्कालीन शिक्षक लालबाबु मण्डल, शाक्य प्रेस अफसेट प्रेस चैनपुर, सङ्खुवासभाका प्रोप्राइटर केशवकुमार शाक्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । उनीहरुमा चार लाख ६० हजार ४५५ रुपियाँ रकम हिनामिनाको आरोप लागेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार आर्थिक वर्ष २०७४/७५ मा पुस्तकालय व्यवस्थापनका लागि विद्यालयको खातामा जम्मा भएको रकम हिनामिना गरेको आरोप उनीहरुमा छ । विद्यालयमा पुस्तकालयको लागि जम्मा भएको रकमबाट भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालकुमार अधिकारीले शाक्य अफसेट प्रेसका प्रोप्राइटर केशवकुमार शाक्यसँग मिलेर हिनामिना गरेको अख्तियारले जनाएको छ ।

खरिद नै नगरिएका पुस्तकहरु खरिद गरिएको भनी झुटा बिल भरपाई बनाए एवम् सम्झौता हुनु अगाडि नै विद्यालयमा खदिर भएको ल्याप्टपको बिलसमेत सङ्लग्न राखी पुस्तकालय व्यवस्थापनका लागि अनुदान प्राप्त सरकारी रकम हिनामिना भएको अख्तियारले उल्लेख गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्