काठमाडौँ – पाल्पाको नुवाकोट गढीबाट बुटवल जाँदै गरेको कार दुर्घटना पर्दा ३ जनाको मृत्यु भएको छ र २ जना घाइते भएका छन् । बुधबार राति लु २ च ८५३१ नम्बरको कार दुर्घटनामा परेको थियो । दुर्घटनामा मृत्यु हुनेहरूमा बुटवल उपमहानगरपालिका–१०, का ५५ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका–३, की ६७ वर्षीया आशा श्रेष्ठ र ५० वर्षीया भगवती श्रेष्ठ रहेको प्रहरीले बताएको छ । दुर्घटनाग्रस्त कार सडकबाट झन्डै सय मिटर तल खसेको प्रहरीको भनाइ रहेको छ ।
नुवाकोट पाल्पा पुगेर बुटबल बेलवास झर्ने क्रममा भ्यू प्वाइन्टनजिकै दुर्घटनामा परेको दोभान प्रहरी चौकी पाल्पाले बताएको छ । दुर्घटनामा घाइते भएकाहरू बुटवल मिलनचोककी चन्दा श्रेष्ठ र बुटवल होराइजन चोककी लक्ष्मीता श्रेष्ठको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले बताएको छ ।
प्रतिक्रिया