काठमाडौं– काठमाडौंका विभिन्न स्थानमा आइतबार (आज)देखि सात दिनसम्म बिजुली अवरूद्ध हुने भएको छ। विद्युत् प्राधिकरण अन्तर्गतको काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले सार्वजनिक गरेको सूचना अनुसार काठमाडौंका विभिन्न वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानहरूमा दैनिक ४ घन्टा बिजुली अवरूद्ध हुने भएको छ । आयोजनाले विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि ती क्षेत्रहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने बताएको छ। आइतबार जोरपाटी वितरण केन्द्रको डाँची फिडर अन्तर्गत मूलपानी पीपलबोटदेखि बाबा चोकसम्मको क्षेत्रमा विद्युत् अवरूद्ध रहनेछ। सोमबार कुलेश्वर वितरण केन्द्रको कालीमाटी फिडर अन्तर्गत रविभवनदेखि कलंकी मन्दिरसम्मको क्षेत्रमा विद्युत् अवरूद्ध रहनेछ ।
मंगलबार वानेश्वर वितरण केन्द्रको कोटेश्वर फिडर अन्तर्गत तीनकुने पुलदेखि महादेव खोला पुलसम्मको क्षेत्रमा विद्युत् अवरूद्ध रहनेछ ।
बुधबार कीर्तिपुर वितरण केन्द्रको कीर्तिपुर फिडर अन्तर्गतका पाँगा सडक क्षेत्रमा विद्युत् अवरूद्ध रहनेछ । विहीबार कुलेश्वर वितरण केन्द्रको ताहाचल फिडर अन्तर्गतका कालीमाटी चोक क्षेत्रमा विद्युत् अवरूद्ध रहनेछ । शुक्रबार वानेश्वर वितरण केन्द्रको बौद्ध क्षेत्रमा महाकाल फिडर अन्तर्गत पर्ने स्थानमा विद्युत् अवरूद्ध रहनेछ । शनिबार कीर्तिपुर वितरण केन्द्रको रोपवे र मच्छेगाउँ फिडर अन्तर्गतका नगाउँ क्षेत्रमा विद्युत अवरूद्ध हुने बताएको छ। मौसम प्रतिकूल भएको अवस्थामा भने विद्युत् आपूर्ति बन्द नहुने आयोजनाले बताएका छन् ।
विद्युत् प्राधिकरणले पनि आइतबार अर्को सूचना जारी गरेर बलम्बू वितरण केन्द्रको मातातिर्थ फिडर अन्तर्गत पर्ने मातातिर्थ क्षेत्रमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने बताएका छन् । ती क्षेत्रमा हाइटेन्सन लाइन मर्मत र कन्डक्टर स्तरोन्नतिका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द रहने प्राधिकरणले बताएको छ। समय अगाडि नै काम सकिएको अवस्थामा ५ बजेभन्दा अगाडि नै विद्युत् आपूर्ति सूरू गरिने प्राधिकरणले बताएको छ।
प्रतिक्रिया