अत्यधिक गर्मीका कारण दुई जनाको मृत्यु


काठमाडौं– अत्यधिक गर्मी बढ्दा दुई जनाले गर्मीका कारण ज्यान गुमाएका छन् । बाँकेको टोपेन्द्र सुनार र कैलाश गिरीको अत्यधिक गर्मीका कारण मृत्यु भएको छ ।

टोपेन्द्र सुनार खजुरा गाउँपालिकास्थित खजुरा बजारमा मेट्रो ज्वेलर्स सञ्चालक हुन् । शुक्रबार मोटरसाइकलमा घरबाट पसलतर्फ जाने बेला गर्मीले रिँगटा चलेपछि मोटरसाइकल रोकेर सडक किनारमा बस्दा उजी बेहोस भएका थिए । धनौलीमा बेहोस भएका सुनारलाई स्थानीय र प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएका थिए । अस्पालात पुग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस्तै नेपालगन्जस्थित नीलसागर आश्रममा बस्दै आएका १०४ वर्षका कैलाश गिरीको अत्यधिक गर्मीका कारण मृत्यु भएको छ । गिरीको स्वासप्रश्वासमा समय्या आएपछि  उपचारका लागि भेरी अस्पताल पुर्‍याइएको थियो । शनिबार चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

पछिल्लो समयमा बढेको गर्मी र तातो हावा ‘लु’ का कारण तराईलगायत देशैभरको जनजीवन प्रभावित भएको छ । तराईका अधिकांश क्षेत्रमा ४४ डिग्री सेल्सियसभन्दा बढीसम्म तापक्रम पुगेको छ । अत्यधिक गर्मीका कारण मानिसहरु बेहोस हुने, झाडा पखाला र वान्ता हुने, टाउको दुख्ने तथा छाला चिलाउनेदेखि ज्वरो आउने क्रम बढ्दै गएको जनाइएको छ ।