Logo

मेलम्चीको खानेपानी तत्काल बन्द नहुने

काठमाडौं– मेलम्चीको खानेपानी तत्काल बन्द नहुने भएको छ । जेठ ३१ गतेदेखि बन्द गर्ने भनिएपनि मनसुन सक्रिय हुन समय लाग्ने भएपछि अझै केहिदिन मेलम्चीको पानी आउने भएको हो ।

ठुलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बागमती प्रदेशमा मनसुन सक्रिय भएसँगै वर्षा हुन थालेको छ । तर मनसुन सक्रिय भए पनि ठुलो वर्षा नभएकाले मेलम्ची बन्द नगरिएको समितिले जनाएको छ । यदि ठुलो वर्षा भएर मेलम्ची नदी धमिलो हुन सुरु भएमा त्यसको १० मिनेटभित्र मेलम्ची बन्द गर्ने तयारी समितिले गरेको छ ।

हाल मेलम्ची खानेपानी आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ । उपभोक्तालाई खानेपानीको अभावलाई मध्यनजर गर्दै हाल पानी बन्द गर्न नलागेको समितिले जानकारी दिएको छ ।

मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन सरकारले वर्षा सुरु भएसँगै बन्द गर्ने र वर्षा सकिएपछि खोल्दै आइरहेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिरहेको छ । यसले बाढीपहिरोलगायत मनसुनजन्य घटना बढ्नसक्ने भन्दै समयमा नै सतर्कता अपनाउन विभागले सरोकारवालालाई अनुरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्