Logo

२ महिनामा २४ करोडको अनलाइन जुवा खेलाएको आरोपमा छ जना पक्राउ

काठमाडौं– अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ६ जनालाई पक्राउ गरेको छ । वुल्फ ७७७ अनलाइन क्यासिनो’ साइटबाट सट्टेबाजी अर्थात अनलाइन जुवा खेलाएको आरोपमा उनीहरुलाई सिआइबीले पक्राउ गरेको हो ।

उनीहरुमा ‘वुल्फ ७७७ अनलाइन क्यासिनो’सञ्चालन गरेर विभिन्न व्यक्तिहरूलाई बैंक खाताको क्यूआर कोड सामाजिक सञ्जाल मार्फत पठाइ अनलाइन जुवा खेलाएको आरोप छ । यो समूहले करिब २ महिनाकै अवधिमा २४ करोडको अनलाइन जुवा खेलाएको पाइएको सिआइबिले जनाएको छ ।

उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रुपन्देहीको कट्टिमाई नगरपालिका–६ का २५ वर्षीय आकाश मिश्र, सिद्धार्थनगर नगरपालिका–५ का २२ वर्षीय अभिषेक जैसवाल, रुपेन्देहीको ओमसतिया गाउँपालिका–१ का २५ वर्षीय नितेश हरिजन, बुटवल उपमहानगरपालिका–१७ का २९ वर्षीय रामु गिरी रहेका छन् ।

यस्तै रुपन्देहीको सैनामैना नगरपालिका–८ का २८ वर्षीय प्रतिक बस्याल र काठमाडौं महानगरपालिका–३० का २९ वर्षीय सजल श्रेष्ठलाई प्रहरीले पक्राउ परेका छन् ।

उनीहरुविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ अन्तर्गतको सट्टाबाजी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्