Logo

मेलम्चीको पुरानो घाउ निको नहुँदै फेरि बाढीको चिन्ता

काठमाडौं– जबजब पानी पर्न थाल्छ मेलम्ची बासीले तीन वर्ष अघिको त्यो विपद् सम्झिन्छन् । २०७८ असार १ को त्यो दिन । जसले मेलम्ची कोरिडोरका नागरिकलाई विर्सनै नसक्ने घाउ दिएको छ ।

हेलम्बुको शिर भेमाथाङको विशाल चौर भत्केर आएको लेदोसहितको बाढीले मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकामा ठुलै नोक्सानी ग¥यो । बाढीले मेलम्ची बजार सिङ्गै डुबायो । बजारमा निर्माण गरिएका सामुदायिक रेडियो, रेडियो मेलम्चीको चारतल्ले पक्की घर पनि बगायो ।

बाढीले पाँच सय बढी घरटहरासहित नदी करिडोरबाट मानिस र पशुसमेत बगायो । अरबौँ लगानी गरेर बनाइएका फर्म, रिसोर्टहरुलाई पनि खोलाले निल्यो । सडक बगाया, खेतीयोग्य जमिन बगरमा परिणत भयो । बाढीले भौतिक र मानविय क्षति मात्र गरेन । मेलम्ची र हेलम्बुको विकासलाई बाढीले निकै वर्ष पछाडि धकेल्यो । बाढीले क्षति गरेका तीन स्थानीय तहका नदी आसपास बस्नेहरु त्यो दिन सम्झेर अहिले पनि राम्ररी निदाउन सक्दैनन् ।

बाढीका कारण प्रभावित भएका मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिका गरि ८३० परिवार लाभग्राही पहिचार गरिएको छ । तर उनीहरुले अहिलेसम्म पूर्ण रुपमा राहत पाइसकेका छैनन् ।

पुरानो घाउ नै भरि नसक्दा सिन्धुपाल्चोकबासीलाई नयाँ चोट थपिने चिन्ता छ । कारण ३ वर्षअघि बगेको हेलम्बुको ठूलो चौर कुनै पनि बेला फेरि खस्न सक्ने सम्भावना रहेको विज्ञहरुले बताएका छन् । त्यसैले मेलम्ची करिडोरवासी पानी पर्नासाथ मेलन्चीमा फेरि बाढी आएर सबै उजाड्ने हो की भन्ने त्रासमा छन् ।

यसवर्ष पनि जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकमा औसतभन्दा धेरै पानी पर्ने पूर्वानुमान गरेको छ । विभागको यो पूर्वानुमानले स्थानीयवासीको डर झनै बढेको छ । यस्तो समयमा विपद्बाट बच्न तीनै तहका सरकार र सरोकार भएका निकायले सहयोगको अपेक्षा मेलम्ची बासीले गरेका छन् ।

उसो त यस वर्ष मन्सुनको प्रभाव मेलम्चीमा मात्र नभइ पुरै देशभर बढी रहने आँकलन गरिएको छ । मनसुनजन्य विपद्बाट ८३ हजार घरपरिवार प्रत्येक्ष प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । १८ हजार घरपरिवारलाई मनसुनजन्य विपद्मा उद्धार र राहत दिनुपर्ने आँकलन सरकार आफैँले गरेको छ। विपद्को पूर्वतयारी गर्दै आवश्यक उद्दार सामाग्री र जनशक्ति तयार राखेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्