Logo

बाँदरले खाए एक हजार १३७ क्विन्टल चिनी

काठमाडौं– भारतको उत्तर प्रदेशमा बाँदरहरूले ३५ लाख भारुको चिनी खाएर सकेका छन् । यो घटना उत्तर प्रदेशको अलीगढ सहरको हो । अलिगढमा रहेको साथा चिनी मिलमा एक हजार १३७ क्विन्टल चिनी घोटाला भएको विषय सार्वजनिक भयो । घोटाला भएको सार्वजनिक भएपछि करिब ३५ लाख भारु मूल्य पर्ने सो परिमाणको चिनी बाँदरले खाएको बताइएको छ ।

सो चिनी मिल २६ महिनादेखि बन्द थियो । उत्पादन बन्द रहेको चिनी मिलमा गत फेव्रुअरी २९ को अडिट रिपोर्टअनुसार एक हजार ५३८ क्विन्टल चिनी थियो । त्यसको एक महिनापछि मार्च ३१ को अडिटमा कारखानामा ४०१ क्विन्टल मात्र चिनी बाँकी थियो । चिनीको उत्पादन र कारोबार ठप्प रहेको बेलामा एक महिनामा नै त्यती ठूलो मात्रामा चिनी गायब भएपछि घोटाला भएको ठहर गरिएको थियो । तर मिलका स्टोर किपरले गायब भएको चिनी बाँदरले खाएको बताएका थिए ।

सो चिनी मिलको गोदाम घरको शटर फुटेको थियो । गोदाम घरको छतबाट पनि पानी चुहिन्थ्यो । चिनी मिल रहेको ठाउँमा बाँदरको आतंक अति नै हुने गरेको छ । बाँदरहरूले चोरेर खाँदा र छतबाट पानी चुहिएर चिनी पग्लिँदा ५२८ क्लिन्टलसम्म चिनी घटेको चिनी मिलका स्टोर किपरले बताएका छन् ।

तर एक हजार १३७ क्विन्टल चिनी गायब भएपछि चिनी मिलका प्रबन्धक, लेखा अधिकारीसहित ६ जना दोषी पाइएको थियो । तर उनीहरुले उक्त चिनी गायब नभएको र बाँदरले नै खाएको बताएका छन् । घटनापछि लापरबाही गरेको भन्दै गोदाम किपरलाई निलम्बन गरिएको छ ।

सन् २०२० यता सो चिनी मिलमा चिनीको उत्पादन ठप्प रहेको मिलका सुरक्षा गार्ड र अन्य कर्मचारीले बताएका छन् । तर यति ठुलो परिमाणमा चिनी बाँदरले खाएको कुरा पत्यारलाग्दो नभएको उनीहरुको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्