Logo

जापानमा फैलिँदै मांशाहारी ब्याक्टेरिया, ४८ घण्टामा नै मृत्यु हुने सम्भावना

काठमाडौं– कोरोनाको विश्वव्यापी महामारीपछि संसारमा केहि तङ्ग्रीएको अवस्थामा जापानमा एक दुर्लभ रोग देखिएको छ । उक्त रोग फैलिएपछि संसारभरिकै ध्यान जापानमा केन्द्रीत भएको छ ।

जापानमा यतिबला मानिसको शरीरको तन्तुमा आक्रमण गर्ने व्याक्टेरिया फैलिरहेको छ । यसको आक्रमणले मानिसको संक्रमित भएको ४८ घण्टाभित्र ज्यान जाने सम्भावना हुन्छ ।

यो ब्याक्टेरियालाई मांसाहारी अर्थात् मासु खाने ब्याक्टेरियाको उपनाम समेत दिइएको छ । यस रोगलाई स्ट्रोप्टोकोकलल टक्सिस शक सिन्ड्रोन ९एसटीएसएस० भनिन्छ ।
यस ब्याक्टेरियाले १५ वर्षमुनिका बालबालिका र वृद्धावस्थाकालाई बढी असर गरिरहेको छ । यद्यपी यसको संक्रमण जुनसुकै उमेर समुहका व्यक्तिलाई हुनसक्छ । जापानको नेसनल इन्स्टिच्युट अफ इन्फेक्शियस डिजीजका अनुसार जापानमा यसवर्ष जुन २ सम्म एसटीएसएसका ९७७ केस फेला परिसकेका छन्। यस वर्ष २५ सय भन्दा धेरैमा संक्रमण हुने आँकलन गरिएको छ । गत वर्ष जापानमा एसटीएसएसका ९४१ केस फेला परेका थिए।

सन् २०१८ देखि २०२२ सम्म यस रोग लागेकामध्ये जापनामा २३ प्रतिशत व्यक्तिले ज्यान गुमाएका थिए । यस वर्ष मृत्यु हुनेको दर ३० प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

यसबाट संक्रमित व्यक्तिहरूमा सुरुमा शरीर सुन्निने र घाँटी दुख्ने समस्या हुन्छ । यसबाहेक शरीर दुख्ने, ज्वरो आउने, रक्तचाप कम हुने, शरीरको तन्तुको मृत्यु हुने, श्वासप्रश्वासमा समस्या, शरीरका विभिन्न अंग फेल हुनेजस्ता समस्या पनि देखापर्छ । यस ब्याक्टेरियाले शरीरमा विषाक्त पदार्थ उत्पादन गर्छ, जसले गर्दा शरिर पोलेको जस्तो जलन हुन थाल्छ । त्यसपछि यसले शरीरको तन्तुलाई क्षति पुर्‍याउँछ । जसकारण शरीर सुन्निन थाल्छ र तन्तुहरू मर्न थाल्छन्, । योबेलामा गम्भीर पीडा हुन्छ । त्यसको केही घण्टामै संक्रमित व्यक्तिको मृत्यु हुन्छ ।

यो रोग जापानमा मात्र फैलिएको भने होइन । युरोपियन देशहरुमा समेत यसको सङ्क्रमण पाइएको थियो । सन् २०२२ सम्ममा बेलायत, फ्रान्स, आयरल्याण्ड, नेदरल्याण्ड र स्वीडेनमा यो रोगको संक्रमण पुष्टी भएको थियो ।
यो रोग पनि कारोना जस्तै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना उच्च रहन्छ । त्यसैले यसबाट बच्न बारम्बार हात धुन, घाउ भएमा तुरुन्त उपचार गराउन चिकित्सकहरु सुझाब दिन्छन् ।

जापानमा यो रोगसँग लड्नका लागि यसको अवस्थाको बारेमा अध्ययन भइरहेको छ । त्यस्तै जापानका सबै अस्पताललाई अलर्टमा राखिएको छ । यस रोगको गम्भीरता र खतरालाई ध्यानमा राखी अहिले जापानका नागरिकलाई सचेत गराउन अभियान चलाइएका छन् । यस घातक रोगका कारण जापानमा मानिसहरूले फेरि मास्क लगाउन र सावधानी अपनाउन थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्