Logo

दुईभन्दा बढी सन्तान जन्माउनेलाई दोलखाको भीमेश्वर नगरपालिकाले १० हजार दिने

काठमाडौं– नगरपालिकाभर गर्भवती हुने महिलाको दर घट्न थालेपछि दोलखाको भीमेश्वर नगरपालिकाले सन्तान जन्माउन प्रोत्साहन गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा दुई सन्तानभन्दा बढी जन्माउने दम्पत्तीलाई प्रोत्साहन गर्ने निर्णय समावेश गरेको हो । नगरपालिकाले दुई भन्दा बढी सन्तान जन्माउँदा दम्पत्तीलाई दश हजार रुपैयाँ उपलब्ध गराउने निणर्य गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

पछिल्लो समय गाउँघर रित्तिदैँ गएको नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले बताइन् । उनका अनुसार नगरपालिकामा खेतीयोग्य जमिन बाँझोमा परिणत हुने क्रम बढ्दैछ । बसाईसराई र सन्तान जन्माउन कम भएकाले जनसङ्ख्या घट्दै गएको उनले बताइन्।

उनले भनिन्, ‘राष्ट्रिय जनगणनामा पनि जनसङ्ख्या वृद्धिदर घट्दैछ । विद्यार्थीहरु नभएर विद्यालयहरु पनि रित्तो हुन थालेका छन् ।’

चालु आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकाभित्र ६९ जना महिला मात्र गर्भवती भएको उनले बताइन् । उनले भनिन्, ‘पुरै नगरपलिकामा ६८/६९ जना महिलामात्र गर्भवती हुनु भनेको जनसङ्ख्या घट्दै गएको बुझ्नु हो ।’

पालिकाबासीको सङ्ख्या बढ्दै गएमा विभिन्न शिलशिलाले पालिका छाडेकालाई पछि फर्काउन सक्ने उनको विश्वास छ । यसका लागि स्थानीय सरकारले नगरपालिकामा नै सुविधा दिन काम गरिरहेको छ । पालिकालाई शैक्षिक हब र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिकाले विभिन्न काम गरिरहेको उनले बताइन् । पालिकाको सेवा सुविधा उपभोग गर्ने र भविष्यका दक्ष जनशक्तिका लागि पनि जनसङ्ख्या आवश्यक पर्ने भएकाले सन्तान उत्पादनमा प्रोत्साहन गर्न आवश्यक रहेको उपप्रमुख बस्नेतले सुनाइन् ।

 

प्रतिक्रिया दिनुहोस्