Logo

बालेनलाई कार्यपालिका सदस्य ढोलीको प्रश्न: सिंहदरबार जलाउँछु भन्दा महानगर जलाए के हुन्छ?

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि महानगरको कार्यपालिका सदस्य अनिता कार्की ढोलीले सिंहदरबार जले के हुन्छ भन्दै प्रश्न गरेकी छिन् ।

आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमको छलफल भइरहेको नगरसभामा उनले सो प्रश्न गरेकी हुन् । उनले सिंहदरवारले नै प्रद्दत गरेको अधिकारबाट महानगरको कुर्सीमा बसेको भन्दै कसैले महानगरपालिकाको दरबार जलाउँछु भन्दै आए के गर्ने भनेर प्रश्न गरेकी छन् ।

‘प्रमुख ज्यु आज तपाईँ जुन कुर्सीमा बसिरहनु भएको छ । त्यो कुर्सीको अधिकार नेपालको संविधान २०७२ ले दिएको र स्थानीय सत्ता सञ्चालन २०७४ ले दिएको अधिकार अन्तर्गतको हो । जुन अधिकार सिंहदरवारले प्रद्दत गरेको अधिकार हो । अहिले सिंहदरबार जलाउँछु भन्दै गर्दा तपाईलाई महानगरपालिकाले दिएको जुन दरबार छ । भोलि त्यो दरबार महानगरबासीले जलाए भने त्यसको अवस्था के हुन्छ रु,’ नगरसभाको बैठकमा उनले प्रश्न गरिन् ।

महानगर प्रमुख बालेनले कुर्सीमा रजगज देखाएको आरोप उनको छ । ‘जुन दरबारमा बसेर तपाईँ रजगज गरिरहनु भएको छ । त्यो दरबार महानगरपालिकाले तिरेको राजस्वबाट बनेको हो,’ उनले थपिन् । उनले आफ्नो पार्टी माओवादी केन्द्रले नै देशमा थुप्रै आमूल परिवर्तन भएको बताइन् ।

‘पछिल्लो पटक थुप्रै आमूल परिवर्तन भएका छन् । त्यसको संबाहक पार्टी माओवादी केन्द्र पनि हो । त्यो हामीले बिर्सिनु हुन्न । संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशीता, धर्म निरपेक्षता, संविधानलगायत आमूल परिवर्तनको पक्षधर माओवादी केन्द्र नै हो,’ उनले भनिन् । उनले दलको विकल्प व्यक्ति हुन नसक्ने बताइन् । ‘आगामी दिनमा दलको विकल्प दल हुनसक्छ, व्यक्ति हुन सक्दैन,’ उनले भनिन् ।

मेयर शाहले सामाजिक सञ्जालमा सबै कार्यपालिका सदस्यसँग छलफल गरेर नीति तथा कार्यक्रम ल्याउने भन्दै लेखेको स्टाटसको खण्डन गर्दै उनले कार्यपालिकामा छलफल नै नगरी नीति तथा कार्यक्रम प्रस्तुत हुनुले अरूको अधिकार हनन भएको बताइन् ।

कार्यपालिकामा पर्याप्त छलफल नगरी बलजफ्ती नगरसभामा नीति तथा कार्यक्रम ल्याएको भन्दै तीन जना वडाध्यक्षले ल्याएको साझा संशोधन प्रस्तावमा उनले सहमति जनाइन् ।

 

प्रतिक्रिया दिनुहोस्