झापा र बर्दिया जिल्लामा लागु औषधसहित चार जना पक्राउ


 

काठमाडौँ – झापा र बर्दिया जिल्लामा लागु औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेका छन् । झापाको गौरिगञ्ज गाउँपालिका-१ कुञ्जिबारीस्थित सडकबाट अवैध लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ३० मिलिग्रामसहित सकमल गाउँपालिका-१ बस्ने ३० वर्षीय उद्धव भट्टराईसमेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेका छन् । प्रहरी चौकी महाभाराबाट खटिएको प्रहरी उनीहरूलाई पक्राउ गरेका हुन् ।

यता बर्दियाको बारबर्दिया नगरपालिका-३ लक्ष्मणपुरबाट अवैध लागु औषध जस्तो देखिने खैरो पदार्थ १० ग्राम ८ सय ८० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद १२ हजार ९ सय ६० रुपैयाँसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय उमेश खत्री र उनकै श्रीमती २५ वर्षीया अनिता खत्री हुन् । लागु औषध नियन्त्रण ब्युरो नेपालगन्ज, जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको संयुक्त प्रहरीले खत्रीको घर तलासी गर्दा उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेका छन् ।