Logo

विवाहको वर्ष दिन नपुग्दै श्रीमान गुमाएकी भुमिकाले सिन्दुर पोते लगाउँदै भनिन्, ‘उहाँले दिनुभएको उपहार जब मन लाग्छ, म लगाउनेछु’

काठमाडौं– नेपाली समाजमा जब एउटी हिन्दु महिलाको विवाह हुन्छ । श्रीमान जिवित रहँदासम्म महिलाको जीवनमा सिन्दुर, चुुरा पोते, मेहेन्दी जस्ता चिजहरूले अर्थ राख्दछन् ।

यदि श्रीमानको पहिले मृत्यु भएमा श्रीमतिले विधवाको जीवन बाँच्नुपर्छ । विधवाले टीका, चुरा, पोते, सिन्दुर र रातो बस्त्र लगाउन नपाइने रुढीबादी सामाजिक मान्यता स्थापित छ । विधवाले बेरङ्गी जिवन बाँच्नृपर्ने र दोस्रो विवाह गर्न नहुने जस्ता रुढीवादी सोथ समाजमा पाइन्छ ।

जीवनसाथी गुमाउँदा महिलाले मात्र मान्नुपर्ने यस्ता नियमले महिलाहरुले आफ्नो सम्मान, प्रतिष्ठा गुमेको महसुस गरेका हुन्छन् । र यसको विरोध गर्दै पछिल्लो समय महिलाहरुले आफ्नो तर्फबाट बिद्रोहको समेत सुरुवात गरेका छन् ।
यहि रुढीबादी मान्यतालाई विरोध गर्दै कालिकोटकी भुमिका पोखरेल पौडेलले श्रीमान बितेको वर्ष दिनको तिथिमा श्रीमानले दिएको शृङ्घारमा सजिएकी छिन् ।

आफुले सामाजिक मान्यताभन्दा पनि भावनालाई महत्व दिएको भन्दै रातो सारी, सिन्दुर र पोतेमा शृङ्घारिएर उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बीर सार्वजनिक गरेकी छिन् । तस्बीरसँगै उनले लेखेकी छिन्, ‘तिथि अनुसार यहि असार ५/६ गते जेठ शुक्ल त्रयोदशीका दिन मेरो श्रीमानले हामिलाइ छोडेर जानुभएको एक वर्ष पुग्यो र उक्त तिथिको काम पछि घरमा पुजा गरी उहाँले मलाइ बिहेमा दिनुभएको उपहार सिन्दुर, पोते र चुरामा मलाई मेरी सासुआमाले सजाउनुभयो । भगवानले उहाँलाई म बाट खोसे पनि उहाँले दिनुभएको उपहारहरु मसँग सुरक्षित थिए र रहनेछन्। जब जब मलाई ती उपहारहरु लगाउन मन लाग्छ, म लगाउनेछु।’

यस काममा आफ्नो भावनालाई बुझिदिएकोमा सम्पूर्ण परिवार र पुरोहितप्रति उनले कृतज्ञता व्यक्त गरेकी छिन् । उनले लेखेकी छिन्, ‘यस कार्यमा समाजले तोकेको नियम भन्दा मेरो भावनालाइ बढी महत्व दिएर सहयोग गर्नुहुने पुरेत ठुलोबुवा, उहाँको घरपट्टिको हजुरआमाहरु, फुपुहरु, आमा, दिदी, बहिनी, काकीहरु, मेरो माइतको बुवा, आमा, फुपु, दाइ भाउजु, बहिनी, भाइ र सम्पुर्ण समाजप्रति आभारी छु।’

विवाह भएको करिब १४ महिनामा नै भुमिकाले श्रीमानलाई गुुमाएकी थिइन् । भुमिकाको श्रीमान इन्जिनियर भानु पौडेलको गत वर्ष एक दुर्घटनामा मृत्यु भएको थियो । उनी सिटिइभिटी स्थर महाशाखा अधिकृत इन्जिनियर थिए । खोटाङको शिक्षालय अनुगमनमा जाने क्रममा सिन्धुलीको खुर्कोट नजिकै उनी सवार स्कोरपियो गाडी सुनकोशी नदीमा खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्