Logo

कैलालीमा चट्याङ लागेर दुईको मृत्यु, पाँच जनाको अवस्था गम्भीर

धनगढी– कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । बुधबार बिहान परेको चट्याङ लागेर धनगढी उपमहानगरपालिका र जोशीपुर गाउँपालिकाका एक÷एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–१८ एफ गाँउका २७ वर्षीय शालिम चौधरी र जोशीपुर गाउँपालिका–३ का ३१ वर्षीय जयराम डगौराको चट्याङ लागेर मृत्यु भएको हो ।

आफ्नै घर नजिक रहेको खेतमा रोपाइँ गर्ने क्रममा शालिम चौधरीलाई चट्याङ लागेर गम्भीर घाइते भएका थिए । उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जोशीपुरका डगौरालाई खेतमा आली बनाउने क्रममा चट्याङ लागेको थियो । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो ।

चट्याङ लागेर अन्य पाँच जना गम्भीर घाइते भएका छन् । विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनीमा तीन बालिका, टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा एक–एक जना घाइते भएका छन् ।

विद्यालय जाने क्रममा चट्याङ लागेर घोडाघोडी–९ की ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठात र १० वर्षीया खिमा कठात गम्भीर घाइते भएका छन् । मोहन्याल आधारभूत विद्यालयमा अध्ययनरत उनीहरु गेट नजिक पुगेका बेला चट्याङ परेको थियो। घाइते अवस्थामा उपचारका लागि उनीहरुलाई नजिकैको घोडाघोडी अस्पताल लगिएको थियो।

त्यहाँबाट रेफर गरेर बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ। अन्य दुई जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्