Logo

राष्ट्रपति रामचन्द्र पौडेल र चीनका उपविदेशमन्त्रीबिच शिष्टाचार भेट

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

‍त्यस अवसरमा राष्ट्रपति पौडेलले चीन नेपालको प्रमुख एवं लामो समयदेखिका विकास साझेदार रहेको बताउँदै करिब सात दशकदेखि नेपालको विकास प्रयासमा चीनले गरेको सहयोगका निम्ति कृतज्ञता ज्ञापन गरे। भेटमा राष्ट्रपति पौडेलले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको र यसले सधैँ नेपालको विकास प्रयासमा योगदान पुर्‍याएको बताए । उनले नेपाल सन् २०२६ मा अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन लागेको सन्दर्भमा चीनले थप सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।

राष्ट्रपतिले नेपाल र चीनबीच जनस्तरमा सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै चिनियाँ तथा नेपाली भिक्षु, भृकुटी र कलाकार अरनिकोलगायत विभूतिले दुई देशबीचको जनस्तरको सम्बन्ध र सांस्कृतिक आदान प्रदानलाई समृद्ध बनाउन योगदान गरेका बताए।

उपविदेशमन्त्री सुन नेपाल–चीन परराष्ट्रसचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुने सिलसिलमा गत सोमबार नेपाल भ्रमणमा आएका हुन् । तीन दिनको भ्रमण सकेर उपविदेशमन्त्री सुन बुधबार दिउँसो स्वदेश फर्किएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्